वाणिज्य बैंकले बुझाए ३० अर्ब कर

वाणिज्य बैंकले बुझाए ३० अर्ब कर
फाइल तस्बिर।

काठमाडौं : वाणिज्य बैंकहरूले सरकारलाई वर्षमै २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको आयकर बुझाएका छन्। आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले उक्त रकमबराबरको आयकर सरकारलाई बुझाएका हुन्।

 यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.४१ प्रतिशत बढी हो। अर्थात् अघिल्लो वर्षभन्दा गत वर्ष बैंकहरूले ४ अर्ब ७ करोड ६० लाख २१ हजार रुपैयाँ बढी आयकर बुझाएका छन्। आव २०७९/८० मा बैंकहरूले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँबराबरको आम्दानीबापतको कर बुझाएका थिए। 

 गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको कुल नाफा गरेका छन्। जसबाट बैंकहरूले ‘आयकर ऐन २०५८’ अनुसार ३० प्रतिशत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ। 

सोहीअनुरूप गत आवको कमाइबाट झन्डै ३० अर्ब रुपैयाँ बुझाएका हुन्। बैंकहरूले कमाएको नाफा रकम विभिन्न क्षेत्रको खर्चमा लागेको कर कटाएपछि बाँकी नाफा मात्रै खुद नाफा हुन्छ। जसलाई बैंकहरूले वितरणयोग्य नाफामा राखेर सेयर धनीहरूलाई लाभांश दिन पाउछन्।

बैंकहरूले कर तिरेपछिको नाफामा तोकिएअनुसार कर्मचारी बोनस छुट्ट्याएपछिको रकममा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्ने प्रवाधान छ। यससँगै, बैंकहरूले यदि अनुमानित आम्दानीबाट बुझाइएको आयकर वास्तविक आम्दानीभन्दा कम भएमा सरकारलाई १५ प्रतिशत ब्याज थप गरी नपुगेको कर बुझाउनुपर्छ। अनुमानित आम्दानीभन्दा वास्तविक आम्दानी कम भएर बुझाइएको कर बढी हुन गएमा अर्को वर्षका लागि हिसाब मिलान गर्नुपर्ने समेत व्यवस्था छ। 

हरेक वर्ष बैंकरहरू भने सरकारले अन्य व्यवसायलाई २५ प्रतिशतमात्रै आयकर लगाउने तर बैंकहरूलाई बढी भार पर्नेगरी ३० प्रतिशत लिने गरेकोमा गुनासो गर्दै पनि आएका छन्। यसै क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत बैंकहरूले अहिले बैंकहरू नाफाको दबाबमा पनि भएको र सबैभन्दा उच्च कर तिर्दै आएको बताउँछन्। ‘बैंकहरूले लगानी उत्पादनमूलक क्षेत्रमा पनि गरिरहेकै छ। अझ बैंकभन्दा बढी बिजनेस गर्ने अरू सबैको कर कम छ तर बैंकलाई बढी लिइयो। घटाएर अरू सरह गरिनु पर्छ भनेर पटकपटक भन्दै आएका छौं, ’ अध्यक्ष केसीले भने।

गत वर्ष बैंकहरूले नियमित रूपमा तिर्दै आएको कर झन्डै ३० अर्ब रुपैयाँ हाराहारीमा भए पनि सो वर्ष नै बैंकहरूले मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंकहरूले १० अर्ब रुपैयाँबराबरको तिरेका थिए। यसर्थ गत आव वाणिज्य बैंकहरूलाई करको भारमात्रै ४० अर्ब रुपैयाँबराबर तिर्नु परेको उनले बताए। 

यता पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बैंकहरू पारदर्शी छन् तर अन्य संस्थाको तुलनामा कर बढी तोकिएको बताउँछन्। ‘यद्यपि जोसुकैले नाफा गरेपछि सरकारले तोकेको मापदण्डअनुसार तिर्नु नै पर्छ,’ उनले भने। 

सबैभन्दा बढी कर तिर्नेमा नबिल अगाडि, दोस्रोमा प्रभु र तेस्रोमा ग्लोबल आईएमई वाणिज्य बैंकमध्येकै अनुमानित आम्दानीबाट गत असार मसान्तसम्म सबैभन्दा बढी आयकर नबिल बैंकले बुझाउन सफल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्न सफल भएको नबिलले कर पनि बढी बुझाउन सम्भव भएको हो। समग्रमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण केलाउँदा वर्षभर बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि रह्यो। गत वर्ष नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गर्न सफल भयो। सोही आम्दानीअनुसार नबिलले गत आवमात्रै सरकारलाई २ अर्ब ७३ करोड ५२ लाख ४३ हजार रुपैयाँबराबरको कर बुझाएको छ। अझ अघिल्लो आवमा योभन्दा बढी अर्थात् २ अर्ब ८७ करोड ६२ लाख रुपैयाँबराबरको कर बुझाएको थियो। 

यसैगरी, सबैभन्दा बढी कर बुझाउने दोस्रो स्थानमा प्रभु बैंक छ। उक्त बैंकले गत आवको आम्दानीबाट २ अर्ब ५७ करोड ३६ लाख २६ हजार रुपैयाँबराबरको कर बुझाएको छ। अघिल्लो आवमा १ अर्ब १३ करोड रुपैयाँ कर बुझाएको थियो। यस्तै, बढी कर तिर्ने तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले २ अर्ब ५५ करोड १२ लाख रुपैयाँ बराबरको कर बुझाएको छ। अघिल्लो आवमा योभन्दा बढी अर्थात् २ अर्ब ५७ करोड हाराहारी कर बुझाएको थियो। 

यससँगै, नेपाल इन्भेस्टमेनट मेगाले आम्दानीबापत २ अर्ब १४ करोड ४१ लाख रुपैयाँबराबरको कर बुझाएको छ। यसबाहेकका वाणिज्य बैंकले २ अर्बभन्दा कम कर तिरेका छन्। जसअन्तर्गत एभरेस्टले १ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड, प्राइमले १ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब ६४ करोड, कुमारी बैंकले १ अर्ब ६२ करोड रुपैयाँबराबरको कर तिरेका छन्। 

यसबाहेक साढे १ अर्बभनदा तल १ अर्बमाथि कर तिर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बंैक, सिद्धार्थ, लक्ष्मी सन्राइज, नेपाल बैंक हिमालय र एनएमबी बैंक रहेका छन्। यसबाहेकका वाणिज्य बैंकले एक अर्बभन्दा कम कर बुझाएको छ। जसअन्तर्गत सानिमा, नेपाल एसबीआई, सिटिजन्स, माछापुच्छ्रे र एनआईसी एसिया बैंक रहेका छन्। सबैभन्दा कम कर बुझाउनेमा एनआईसी एसिया छ। जस्ले गत आवको आम्दानीबाट सरकारलाई ५४ करोड ९३ लाख ९ हजार रुपैयाँ कर बुझाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.