रानाथारूको पृथक तीज

रानाथारूको पृथक तीज

महेन्द्रनगर : कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तीज बुधबार हर्षेल्लाषका साथ मनाइएको छ।

छुट्टै पहिचान र संस्कृति रहेको रानाथारू समुदायका महिलाले दाजु भाइ र भतिजाहरूको दीर्घायूका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहिआएको छ। तीज राना समुदायको महान पर्व हो। हिन्दु धर्मावलम्बीहरूले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहि आए पनि रानाथारू समुदायले  श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ। 

छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीवहीनीको घरमा गएर निम्ता दिने चलन छ। तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगुलालगायतका विशेष परिकारहरू पकाएर चेलीबेटीसँगै छिमेकी र आफ्नतलाई समेत खुवाउने परम्परा रहेको भीमदत्त नगरपालिका १६ का स्थानीय केशमती रानाले बताइन्। ‘हामी दाजुभाइहरूको दीर्घायुका लागि तीजमा ब्रत बस्ने गर्छौं’ रानाले भनिन्, ‘तीजमा परम्परागत पहिरनमा सजिएर पिङ खेल्दै रमाइलो गर्छौं।’ तीजका दिन महिला पानी समेत नखाई ब्रत बस्ने गरेको उनले बताइन्। ‘बिहानै घर लिपपोतपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरू बनाइन्छ’, रानाले भनिन्, ‘साँझ साउनको डोला (पिङ) खेलेर नदी वा खोला किनारमा गई पूजा गरिन्छ।’

उनका अनुसार नदी किनारमा उरैला (कुशजस्तै एक प्रकारको घाँस) मा गाँठो पारिन्छ। विवाहित महिलाले ७ र अविवाहितले ५ वटा गाँठो पार्ने चलन रहिआएको छ। ‘यसलाई रानाथारू भाषामा ‘झुड्की’ भन्छन्। झुड्की चाँदीको औंठीले काटेर खोला वा नदीमै बगाइन्छ’, केशमतीले भनिन्, ‘जति लामो नदी छ त्यति नै लामो हाम्रा दाइभाइ र भतिजाको आयु होस् भनेर प्राथना गर्छांै।’ दिनभरि बनाइएका परिकारहरू साँझपख पूजापछि ब्रत बसेका छोरी बहिनीदेखि आफ्नतहरू सबै एकै ठाउँ बसेर खाने चलन रहेको स्थानीय बसनती रानाले बताइन्। ‘यो दिन पुरी, गुलगुला, कतरा, पपरा, सिमहि लगायतका परम्परागत खानेकुराहरू पकाइन्छन्’, रानाले भनिन्, ‘यस अवसरमा चेलीबेटीहरू महिनादिन अघि नै माइतमा आउने चलन रहिआएको छ।’ 

नदीमा पूजा गर्नुअघि ब्रतालु महिला रानाथारूको परम्परागत पहिरनमा सजिएर पिङमा रमाउने गर्छन्। ‘पिङ खेल्दा दाइभाइ र भतिजाको दीर्घायुकै लागि गीत गाउने गरिन्छ’, रानाथारू समुदायमा जानकार नाथुराम रानाले भने, ‘अरू समुदायमा महिलाले  श्रीमान्का लागि ब्रत बस्छन्, रानाथारू समुदायमा दिदी बहिनीले दाइभाइका लागि ब्रत बस्ने गर्छन्।’ तीजमा विवाहित महिलाहरू समेत यतिबेला माइतमा आएर रमाईलो गर्ने गर्छन्। रानाथारू समुदायका महिलाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायूको कामना गर्दै रमाइलो गर्ने गर्छन्। ‘तीज आउनु अगावै दाजुभाइ आफ्ना दीदीबहिनीलाई बोलाउन जान्छन्’, स्थानीय गोमती रानाले भनिन्, ‘हामी पानी समेत नखाएर आफ्ना दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्छौं।’

छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तीज पर्व पछिल्लो समय नयाँ पुस्ताकोसमेत रोजाईमा पर्न थालेको र परम्परागत लयमा पुस्तान्तरण भइरहेको पाका पुस्ता बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.