रेसुंगा धाममा सप्ताह ज्ञान महायज्ञ हुने
गुल्मी : रेसुंगा संरक्षण समितिको आयोजनामा गुल्मीको रेसुंगा धाममा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। जिल्लाको धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा भोलिदेखि ३२ गतेसम्म ‘श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ’ हुने भएको हो।
रेसुंगा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउन सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए। भुसालका अनुसार यो महायज्ञले रेसुंगाको महत्व र महिमा विश्वमा चिनाएर मानिसलाई धार्मिक जागरण गर्न थप टेवा पुग्ने छ।
‘नेपाली समाज र समुदायमा पछिल्लो समय धर्म परिवर्तन गराउने खालका थुप्रै कार्यक्रम भइरहेका छन्’, ‘उनले भने, ‘धर्मबाट बिमुख भएकाहरूलाई धार्मिक जागरण तथा विशेष अनुष्ठान ज्ञान प्राप्त गर्न यो सप्ताहले निकै महत्वपूर्ण भूमिका खेल्ने छ।’ महायज्ञको माध्यमबाट गुल्मी जिल्लालाई धार्मिक क्षेत्रका रूपमा विकास गरी रेसुंगाको महिमा विश्वमा बढाउन संरक्षण समितिले विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष भुसालले बताए। अहिले रेसुंगामा एक महिने साउने मेला चलिरहेको छ।
साउन शिवसँग जोडिएको महिना भएकाले अहिले रेसुंगा पोखरीमा स्नान गर्ने र मन्दिरमा पूजा गर्न पुग्ने श्रद्धालुको दैनिक घुइँचो लाग्ने गरेको छ। रेसुंगामा पोखरीमा स्नान गर्नाले पापहरू नष्ट हुने धार्मिक विश्वास रहेकाले पनि यहाँ गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, बाग्लुङलगायत छिमेकी मुलुकबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन्। भक्तजनले रेसुंगालाई तीर्थका रूपमा समेत लिने गरेका छन्। श्रृंगे ऋषिसँग जोडिएको पाँच हजार वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व भएकाले रेसुंगामा भक्तजनहरूको आस्था बढ्दै गएको रेसुंगा संरक्षण समितिका सचिव गोपाल पन्थीले बताए। पछिल्लो समय रेसुंगामा पुग्ने सडक कालोपत्रे भएको र जिल्ला सदरमुकाम तम्घास बजारदेखि सवारीको पहुँच भएकाले प्रत्येक वर्ष श्रद्धालु र पर्यटकको संख्या बढ्दो छ।