पारालिम्पिकमा उत्कृष्ट नतिजाको आशा राखेका छौं
सरोज श्रेष्ठ, सन् २०१० देखि राष्ट्रिय पारालिम्पक कमिटीमा आवद्घ भएर पारा खेलकुदको विकास र विस्तारमा क्रियाशील रहँदै आएका छन्। सन् २०१२ मा पहिलो पटक पारालिम्पिक खेलकुदको अवलोकन गर्ने अवसर पाएका उनले ह्विलचेयरमा बसेका खेलाडीलाई धकेल्दै गर्दा सबैको नजरमा परेका थिए। सबैले उनको कामको खुलेर तारिफ गरेका थिए। त्यही प्रेरणा र हौसलाबाट हौसियर उनले पारा पौडी संघ सञ्चालन गरेका थिए। त्यसलगत्तौ सन् २०१४ मा दक्षिण कोरियामा पहिलो पटक पौडीका तीन खेलाडी लिएर गएका उनले सन् २०१६ को रियो पारालिम्पिकमा लक्ष्मी कुँवरलाई सहभागी गराएका थिए। सन् २०१८ को एसियाली खेलकुदमा पनि तीन जना खेलाडी सहभागी गराएका उनी पेरिस पारालिम्पिकका सेभद मिसनको जिम्मेवारीमा छन्। उनीसँग पारालिम्पिकमा नेपालको तयारीका बारेमा केन्द्रित रहेर गरिएको कुराकानी :-
पेरिस पारालिम्पिक नजिकै आइसकेको छ। हाम्रो तयारी कस्तो भइरहेको छ ?
पेरिस पारालिम्पिक यही अगष्ट २८ बाट सुरु हुँदैछ। यस पटक हाम्रा तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। जसमा दुई तेक्वान्दो र एक पौडीका खेलाडी छन्। तेक्वान्दोको विशेष प्रशिक्षण बेलायतको म्यानचेस्टरमा भइरहेको छ भने पौडीका खेलाडीले नेपालमै प्रशिक्षण गरिरहेका छन्। राज्यको साथ र सहयोग नभए पनि उत्कृष्ट नतिजा ल्याउने हिसाबले तयारी गरिरहेका छौं।
तयारीका लागि राज्यले कुनै सहयोग गरेको छैन त ?
अहिलेसम्म राज्यले प्रत्यक्ष रुपमा केही पनि दिएको छैन। राष्ट्रिय खेलकुद परिषद्ले थोरै रकम दैनिक भत्ताका रुपमा दिएको थियो। त्यो बाहेक अरु केही सहयोग पाएका छैनौं।
यसको मतलब सबै तयारी आफ्नै खर्चमा गरिरहनु भएको छ ?
अहिलेसम्म हामी आफैले तयारी गरिरहेका छौं। पारालिम्पिकको तयारीका लागि राज्यले खासै चासो लिएको छैन। हामी आफैले सकेजति गरिरहेका छौं।
यसपटक हाम्रा तीन जना खेलाडी मात्रै सहभागी हुँदै छन् होइन त ?
पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेसा गोवद्र्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमाल सहभागी हुँदै छन्। हामीले अन्य खेलका खेलाडीका लागि पनि पहल गरेका थियौं। तर, उनीहरूको वाइल्ड कार्ड नै आएन।
पेरिस ओलम्पिकमा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीको लर्को लाग्यो भनेर आलोचना भइरहेको छ। तपाईंहरूको चाहिँ कति जनाको टोली जाँदै छ ?
एवल र डिस्एवलको विषय फरक हुन्छ। एवलमा सबै खेलाडी सक्षम हुन्छन्। उनीहरूले आफ्नो सबै काम आफै गर्न सक्छन्। तर, पारालिम्पिक खेल्ने खेलाडी डिस्एवल हुन्छन्। संयोगले यस पटक ह्विलचेयर प्रयोग गर्ने हाम्रा खेलाडी छैनन्। ह्विलचेयरका खेलाडी हुँदा अफिसियलको कोटा अवश्य नै बढ्छ। ओलम्पिक कमिटीबाट कति जना पेरिस जानु भयो, त्यो मलाई थाहा छैन। पारालिम्पिकमा भिलेजमा बस्ने १० जनाको टोली हुन्छ। केही संघसंस्थाका साथीहरूले जाने इच्छा देखाउनु भएको छ। अहिलेसम्म विस्तृत विवरण आइसकेको छैन। त्यसैले त्यो संख्या कति हुन्छ भन्न सक्ने अवस्था छैन। हामीले जम्मा २० जनालाई सिफारिस गरेका छौं। उताबाट कति जनाको एक्रिडेसन आउँछ, हेर्न बाँकी छ। हामीले बाहिरी रुपमा भिसा प्रोसेस कसैको पनि गरेका छैनौं। त्यसैले यस पटक कोटाभन्दा पनि कम हुन्छ।
बेलायतमा चाहिँ कस्तो प्रशिक्षण भइरहेको छ ?
दुई जना पारा तेक्वान्दो खेलाडीले बेलायतमा प्रशिक्षण गरिरहेका छन्। नेपाल तेक्वान्दो संघले त्यहाँ प्रशिक्षणको व्यवस्था मिलाएको छ। त्यसैले तेक्वान्दोबाट उत्कृष्ट नतिजा आउँछ भन्ने विश्वास गरेका छौं। नेपालमा रहेका भीमबहादुर कुमालले पनि विगत तीन महिनादेखि नियमित प्रशिक्षण गरिरहेका छन्। उनले राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउने आशा राखेका छौं।
राज्यबाट साथ सहयोग पाइएन भन्नुभयो। यसको कारण के हो ? राज्यले त पारा खेलकुद र खेलाडीलाई झन् सहयोग गर्नुपर्ने होइन र ?
राज्यले बिल्कुलै उपेक्षा गरेको भन्न मिल्दैन। हाङझाव एसियाली पारा खेलकुदमा सहयोग गरेकै हो। यस पटक पनि सहयोग गर्छु भनेर भन्नु भएको छ। हेरौं के गर्नु हुन्छ। अर्को कुरा पारालिम्पिक कमिटी दुई वटा छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त भन्ने विवादले नै समस्त पारा खेलकुद पछि परेको छ। हिजोका दिनमा के भयो भन्ने कुरा दोस्रो र तेस्रो पुस्तालाई थाहा हुने विषय भएन। हामी पारा खेलकुदमा केही गछौं भनेर आएका हौं। समस्त पारा खेलकुदलाई नै प्रभावित पार्ने काम गर्नु हुँदैन भन्ने मेरो मान्यता हो। खेलकुद विकास ऐनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघलाई नै मान्यता दिने भनेर स्पष्ट लेखिएको छ। यस हिसाबले राष्ट्रिय पारा ओलम्पिक कमिटीले स्वतः रुपमा मान्यता पाउनु पर्ने हो। तर, त्यसो हुन सकेको छैन। राष्ट्रिय खेलकुद परिषद्मा अर्कै संघ गठन भएको छ। त्यही कारण पनि पारा खेलकुदमा भनेजति काम हुन सकेको छैन।
राज्यले पारा खेलकुदलाई महत्व नै नदिएको हो त ?
अहिलेको परिप्रेक्ष्यमा राज्यले पारा खेलकुदलाई उपेक्षा गर्नै मिल्दैन। संगीना बैद्य, दीपक विष्टपछि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पलेसा गोवद्र्धन नेपालकै तेस्रो खेलाडी बनेकी छन्। छनोट चरण पार गरेर पारालिम्पक खेल्ने पलेसा पहिलो नेपाली खेलाडी पनि हुन्। यो कुराको आत्मसाथ राज्यले गर्नुपर्छ र, उनलाई सम्मान गर्नुपर्छ। पारा खेलाडीले पनि केही गर्न सक्छन् भन्ने कुरा पलेसालगायतका खेलाडीले प्रमाणित गरिसकेका छन्। राज्यको लगानीबिना नै यतिधेरै उपलब्धि हासिल भएको छ। साँच्चिकै राज्यले लगानी गर्ने हो भने त हामी धेरै अगाडि बढ्छौं भन्ने लागेको छ। भर्खरै नयाँ सरकार बनेको छ। उहाँहरूले अरु केही पनि गर्नु पर्दै ऐन नियम अनुसार हामीलाई सहयोग गरिदिनु भयो भने त्यो नै काफी हुन्छ।
पारा खेलाडीको अवस्थाचाहिँ कस्तो छ ?
यस विषयमा त हामीले कामै गर्न सकेका छैनौं। अर्थात् खेलाडीको खोजी नै गर्न सकेका छैनौं। अहिलेसम्म जति पनि खेलाडी आइरहेका छन्, उनीहरू आफैं स्वतःस्फुर्त रूपमा आइरहेका छन्। भिन्न क्षमता भएकाहरूका लागि पनि खेलकुद छ र, त्यहाँ उनीहरूको भविष्य सुनिश्चित हुन्छ भन्ने बोध राज्यले गराउनुु पर्छ। यसो भयो भने खेलाडीको कमी हुँदैन र छैन पनि।
पारा ओलम्पिकको विवाद समाधान गर्न के गर्नुपर्छ ?
हामीले कसैलाई पनि उपेक्षा गर्न मिल्दैन। राष्ट्रिय मान्यता प्राप्त संघले पनि काम गरिराखेकै छ। राष्ट्रिय स्तरमा खल्ने सबै खेलाडीको लक्ष्य भनेको अन्तर्राट्रिय प्रतियोगिता खेल्ने हो। यस्तोमा दुवै संघ एक ठाउँमा बसेर काम गर्नुपर्छ। साँच्चिकै खेल खेलाडीको हितमा काम गर्नु आउनु भएको हो भने आफ्नो स्वार्थलाई छाडेर एक भएर काम गर्नुपर्छ। सबैले आफूलाई भन्दा पनि खेलाडीको हितमा काम गर्ने हो भने यो समस्या नै आउँदैन। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ आधिकारिक हुने भन्ने स्पष्ट छ। त्यसैले राज्यले हामीलाई दर्ता गरेर अगाडि बढाउनु पर्छ।
नयाँ दर्ताभन्दा पनि पहिले दर्ता भएकै संघसाग मिलेर जाँदा राम्रो हुन्छ होला नि होइन ?
मिलेर जानेमा त हाम्रो केही विवाद नै छैन। पारा तथा विशेष खेलकुदको चर्चा पछिल्लो समय धेरै भएको छ। त्यसैले विवादका कुरा पनि पटक पटक उठ्ने गरेको छ। अहिले अस्तित्वमा भएका दुई संघ मिल्नुको विकल्प छैन। एकले अर्कोको अस्तित्व नस्विकार्ने हो र सधैं जुँगाको लडाइ लडिरहने हो भने फरक कुरा। होइन भने आफ्नो स्वार्थबाट माथि उठेर खेलकुद र खेलाडीको हित चाहने हो भने असम्भव केही छैन। खेलकुद र खेलाडीका लागि काम गर्ने हो भने मिल्नुको विकल्प छैन। यसो भयो भने हामी त खुसी नै हुन्छौं।