अँगेनुको उज्यालोमा चुम्चेत गाउँ

अँगेनुको उज्यालोमा चुम्चेत गाउँ
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँका बासिन्दाले अहिले अँगेनुको उज्यालोका भरमा रात गुजार्ने गरेका छन्। गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका— ६ चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २ सय ५० घरधुरीका बासिन्दाले दाउराको उज्यालोको भरमा जीवन गुजार्ने गरेका हुन्।

घरमा बत्ती नभएपछि गाउँलेहरू सम्साँझै खाना खाइवरी सुत्ने गरेका स्थानीय दीपेश गुरुङले जानकारी दिए। ‘आज १२ दिन भयो, हामी अँध्यारोमा बसेको’, स्थानीय दीपेश लामाले भने, ‘साउन १२ गते चमार हिमालको फेदबाट झरेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत आयोजना बगायो। त्यसपछि यहाँका २ सय ५० घरका बासिन्दा साँझ ६ बजेतिर खाना खाएर ७ बजेतिर सुत्ने गरेका छौं।’ 

कसैकसैको घरमा २०७३ सालमा चिनियाँ सरकारले राहतस्वरूप दिएको सोलार टुकी छ। ‘त्यो पनि धेरैजसोको बिग्रिसकेको छ। कसैकसैको होला, त्यस्तै ३०, ४० घरमा’, उनी भन्छन् ।

‘अरूचाहिँ धेरैजसो साँझमै ओछ्यानमा जान्छन्, कोही कोही चाहिँ अँगेनुको उज्यालोको भरमा बस्छन्।’

विद्युत्विहीन भएपछि बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी गर्न पाइएको छैन। मोबाइल चार्ज गर्न पनि नपाएको गाउँलेको गुनासो छ। ‘गाउँमा बिजुली आयो भनेर टोलटोलमा कुटानी, पिसानीको मिल राखेका थिए। अहिले त सबै ठप्पै भयो’, अर्का स्थानीय भुछिमा लामा भन्छन्,‘बिजुली आएपछि पानीघट्टा नि भत्कियो। घट्टा बनाउने ठाउँ पनि छैन। अहिले गहुँ, मकै जाँतोमा पिसेर निर्वाह चलाइरहेका छौं’, खाद्रिङका लामा भन्छन्, ‘मोबाइल चार्ज गर्न नपाएर सबैको मोबाइल स्विच अफ भएर बसेका छन्। हामी दुर्गमका मान्छे, टाढाका आफन्तहरूसँग मोबाइलमा कुराकानी गर्न पनि पाइएको छैन, इन्टरनेट चलाउन पनि नपाउँदा अन्धकारमा बसेजस्तै भएको छ।’

लगातारको झरीले सोलार प्रविधि चार्ज गर्न पनि नपाएको गाउँलेको भनाइ छ। सो गाउँमा केन्द्रीय प्रसारणको बिजुली बत्तीको पहुँच पुगेको छैन। गाउँलेहरूले गते जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए। गत साउन १२ गते रातको २ बजे चुम्चेत खोला (ताम्जाखोला)मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान र कुलो सबै बगाएको आयोजनाका अध्यक्ष गोपाल 
लामा बताउँछन्।

कादुरी एग्रिकल्चरल एड एसोसिएसन (केएए)ले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि गाउँलेहरू चिन्तित छन्। ‘पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो’, अध्यक्ष लामा भन्छन्, ‘अहिले बत्ती बाल्न पाइएको छैन, मोबाइल चार्ज गर्न पनि पाइएको छैन। गहुँ, कोदो यहाँको मुख्यबाली हो। त्यो पनि कुट्न पिस्न पाइएको छैन। फर्निचर उद्योगहरू चल्न पाएनन्। रेडियो, टेलिभिजन पनि हेर्न, सुन्न पाइएन। अन्धकारमा परेको भनेको यस्तै होला भनेर सोचिरहेको छु।’

सो घटनास्थलको विपत् जोखिम न्यूनीकरणको टोलीले अवलोकन गरेको थियो। ‘अलिअलि मर्मत गरेर हुने भए गाउँपालिकाले गरिदिन्थ्यो। यहाँ मर्मत गर्ने होइन, नयाँ बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि कादुरी आफैं आएर अनुगमन गर्नुपर्ने रहेछ। उनीहरूले पक्कै पनि बनाइदेलान् भन्ने भरोसामा बसेका छौं।’

लामो समयदेखि विद्युत्विहीन भएको चुमनुब्री गाउँपालिका–६ चुम्चेत गाउँ।  तस्बिर : शिव उप्रेती।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.