आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै जनार्दन शर्माको आपत्ति
स्थायी समिति बैठकमा पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन्। स्थायी समिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको दाबी गरेका हुन्।
उनले पार्टी एजेन्डाविहीन बन्दै शून्यतातर्फ अग्रसरकाले कार्यकर्ताहरू चरम निराशा र असन्तुष्टिमा बाँचेको बताए। शर्माले संगठनमा माथिदेखि तलसम्म परिवारवाद हाबी भएको बताए। ‘माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित,सिमान्तकृत, मधेसी, उत्पिडित वर्ग र समुदायहरु बिस्तारै आन्दोलनबाट अलग हुँदै गए।’ उनले लिखित दस्तावेजमार्फत भनेका छन्,‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन। छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन।’
माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न जाँदा माओवादीका एजेन्डाहरू खोसिँदै गएको उनको दाबी छ। संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहीन र एजेण्डाविहीन हुँदै बिस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भयो। एकथरी नेता कार्यकर्ताहरु पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौतारिने वातावरण निर्माण भयो।’ शर्माको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘क्रान्तिमार्फत शान्तिमा आउँदा समग्र राष्ट्रलाई संविधानसभा, संविधान, संघीयता, सामवेशी लोकतन्त्रको मार्गचित्रमा डोर्याएको माओवादी आफैं किमकर्तव्यविमुढ हुन पुग्यो।’
शर्माले पार्टीलाई शक्तिशाली बनाउन वामपन्थी एवम प्रगतिशील शक्तिबीच अन्तर्क्रिया,एकता र धुव्रीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। शर्माले पार्टी निर्माणका वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरि पार्टीको नाम परिवर्तन गर्न र आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव राखेका छन्। स्थायी कमिटीका एक सदस्यका अनुसार शर्माले महाधिवेशनमार्फत कार्यकर्ताबाट निर्वाचित हुने गरी नयाँ नेतृत्व चयन गर्ने गरी पार्टी पुनर्गठन अभियानमा लाग्नुको विकल्प नभएको बताएका छन्।
बदलिएको सामाजिक, पारिवारिक संरचना र नयाँ युवा पुस्ताको मनोविज्ञानबारे अध्ययन अनुसन्धान गरी प्राप्त रिपोर्टका आधारमा योजना तथा कार्यक्रम बनाउनुपर्ने शर्माको भनाई छ।