जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विषयमा कुराकानी भएको हो।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए। ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए। उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल सरकारका ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको बताए। उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए।