ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
काभ्रे : काभ्रेको विभिन्न ठाउँबाट ट्रान्सफर्मर चोरी गर्ने र त्यहाँभित्र रहेको तार भक्तपुरको कवाडी पसलमा लगेर बेच्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय पल्हाद बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष बिक, दोलखाका ३० वर्षीय दिकुल खत्री, दोलखाका २१ वर्षीय प्रविन बस्नेत, सिन्धुपाल्चोकका ४२ वर्षीय राजेश विक, दोलखाका २७ वर्षीय सुनिल बस्नेत, दोलखाकै २४ वर्षीय जगन्नाथ बस्नेत र सिन्धुपाल्चोकका २४ वर्षीय प्रेम मिजार रहेका छन्।
केही सातायता करिब एक दर्जन ट्रान्सफर्मर चोरी भएपछि प्रहरीले विशेष योजना बनाएर खोजी कार्य गरेको थियो। प्रहरीले चोरीमा प्रयोग गरिएको बा १ ज ८७३४ नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानमा ट्रान्सफर्मर नै चोरी भएको र त्यहाँभित्रको तार लिएर जान थालेपछि विशेष अप्रेसन गरेर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी चौकी भकुण्डे र इलाका प्रहरी कार्यालय मंगलटारको विशेष अप्रेसनमा ७ जना र उनीहरूको सूचनाका आधारमा थप तीन जना पक्राउ गरिएको श्रेष्ठले बताए । पक्राउ पर्नेहरूलाई डाँका तथा चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि म्याद गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।