प्रतिबन्धित नोटसहित कारमा सवार दुई भारतीय पक्राउ
झापा : झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित कारमा सवारमा दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर चेकजाँच गरेका थिए। सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो।
भारतीय नोटसहित कारमा सवारमा बिहार राज्य किशनगन्ज जिल्ला तात्पुवा ग्राम पञ्चायत ७ बेलायतिबारीका ३२ को वर्षीय महोमद शमिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेश कुमार सिंहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।
सशस्त्रले अख्तरको साथबाट ५ सय दरको ३ सय थान र सिंहको साथबाट ५ सय दरको १०९ थान भारतीय नोट फेला पारेको थियो। उनीहरूलाई नगद, तीन थान मोबाइल र कारसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको डीएसपी पोखरेलले बताए।