किम्ची फास्टफुडको पिउने पानीमा अखाद्य वस्तु, महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा.लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको पानी हो।
काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फूडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ। गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषायक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो। कार्यक्रममा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्ता सहभागी थिए।
कार्यक्रमस्थलमा सिल गरेको प्रशोधित पानी बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखिन्। कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई उक्त पानीको बोतल देखाइयो।
अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि कार्यक्रम रोकिएको थियो।
डंगोलको निर्देशनपश्चात अनुगमन टोली तत्काल रेष्टुरेन्टमा पुगेर नमूना संकलन गरेको थियो। यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेको थिए। आइतबार दुषित पानी बिक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो।
रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा.लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको पानी हो।
खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो।