जंगली च्याउ खाँदा गुल्मीमा आठ जना बिरामी
गुल्मी : रेसुंगा सामुदायिक वनबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा गुल्मीमा आठजना बिरामी परेका छन्।आइतबार साँझ खाना खाएपछि एकै परिवारका सात र एक आफन्त गरी आठजना बिरामी परेका हुन्।
जिल्लाको रेसुंगा नगरपालिका –८ स्थित खानीगाउँका टोपबहादुर थापा श्रीसका एकै परिवारका सात र एक आफन्त गरी आठजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
टोमबहादुर थापाको जेठो ज्वाइ ओसन काउछाले आइतबार दिउँसो रेसुंगा सामुदायिक वनबाट डल्ले च्याउ ल्याएका थिए। बेलुका पकाएर खाएलगत्तै उनीहरू बिरामी परेको प्रहरी जनाएको छ।
बिरामीहरूलाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएको छ। अहिले बिरामी सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।