विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने- महाकाली नदीमा पुल बनाउन सहजीकरण गरौं
काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो।
मन्त्री सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए।
भेटका क्रममा मन्त्री सिंहले सीमा नदीहरूमा पुल बनाउन सहजीकरण गरिदिन आग्रह गरेका थिए। उनले महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसँग आग्रह गरेका हुन्। मन्त्री सिंहले महाकाली नदीमा पुल नहुँदा वर्षेनी नेपालीहरूले ज्यान गुमाउनुपरेकाले तुइन विस्थापित गरी झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
जवाफमा भारतीय सचिवले आफूले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए। भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समीक्षा,नेपालको शहरी विकासको क्षेत्रमा सम्भाव्य सहयोगलगायतका बारेमा पनि कुराकानी भएको गेलालले बताए।
त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने विषयमा छलफल भएको थियो।