बझाङका सडक बेहाल, जयपृथ्वी राजमार्ग दैनिक अवरुद्ध
बझाङ : मनसुन भित्रिए यता बझाङको लाइफ लाइनको रूपमा लिइएको जयपृथ्वी राजमार्ग प्रायः दैनिक रूपमा अवरुद्ध हुँदै आएको छ। जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा १ जालेबगर, बित्थडचिरको देउलेख आसपास र बैतडीका विभिन्न ठाउँमा पहिरो खसिरहन्छ।
सडकको दुरावस्था र पहिरोको जोखिमका कारण रात्रिकालीन यात्रा निकै डरलाग्दो हुने गरेको यात्रुको भनाइ छ। गाडी चल्दाचल्दै पहिरो खसेको भिडियो भाइरल बनेको जयपृथ्वी राजमार्गमा दिउँसो पनि ढुक्क भएर यात्रा गर्न सकिने अवस्था नरहेको यातायात व्यवसायी जगदीश बोहरा बताउँछन्। काठमाडौंबाट बझाङ र बझाङबाट काठमाडौं बस सञ्चालन गरिरहेका उनले कैयौंपटक सडकका कारण बाटोमा धोका पाएको अनुभव सुनाए। यस्तै खप्तड यातायात प्रालीका बझाङ काउन्टर प्रमुख नवराज उपाध्यायले पनि सडकको दुरावस्थाका कारण गाडी बिग्रिने र दुर्घटनाको जोखिम निम्तिएको बताए। बझाङको मुख्य राजमार्ग भएर ग्रामीण सडकभन्दा तल्लो स्तरको यात्रा हुने गरेको उनको भनाइ छ।
छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पानी पर्नासाथ गेग्रान बहाब हुने हुँदा बेलाबेला सडक अवरुद्ध हुने गरेको छ। प्रायःजसो सडक अवरुद्ध हुँदा सडक डिभिजन कार्यालय र सम्बन्धित स्थानीय तहलाई सम्पर्कमा ल्याउन कठिन हुने गरेकाले यात्रुले दुख पाइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलको भनाइ छ। आफूहरूलाई जानकारी हुनासाथ सडक सुचारु गर्न पहल गर्ने गरेको तर टेलिफोन नलाग्ने, जेसीबी, ब्लुडोजर लगायतका साधनमा इन्धन नहुने र टाढा हुने गरेका कारण सडक सञ्चालनमा ल्याउन निकै कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कुँइकेलले बताए।
यस्तै, लगातारको बर्सातका कारण चैनपुर–ताक्लाकोट सडक खण्ड अन्तर्गत कपडेनजिक, भाँडेबगर–ब्याँसी सडक खण्ड अन्तर्गत शान्ति मावि चौघानपाटा विद्यालयको मुनिपट्टी, बाग्थला–बिजगडा सडकखण्डको बाग्थलाभन्दा एक किलोमिटर अगाडि, डुङ्ग्री मष्टा सडकखण्डको ठाउँठाउँमा, तमैल खप्तडछान्ना सडकखण्डको ठाउँठाउँमा ठूलाठूला पहिरो र खोला बढेकाले आवागमन ठप्प रहेको यातायात व्यवसायीको भनाइ छ।
यस समयमा टेलिफोन सम्पर्क र सडक सम्पर्क बिच्छेद हुँदा बिरामी, सुत्केरी महिला र विद्यार्थीलाई समस्या भएको छ। सडक बन्द हुँदा ग्रामीण भेगमा महँगी पनि आकाशिँदा सर्वसाधारण जनता मारमा परेका छन्। स्थानीय तह जोड्ने सडक अवरुद्ध हुँदा पनि स्थानीय तह भने बजेट अभाव र इन्धनको समस्या देखाउँदै पन्छिरहेका छन्।
बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा पनि प्रभावित भएको छ। नेपाल टेलिकमको डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइनअन्तर्गत खोड्पेदेखि चैनपुरबीचको फाइबर श्रीभावरमा ब्रेक हुँदा सेवा आंशिक रूपमा प्रभावित भएको हो। पानी परेर विद्युत् पोल ढल्दा फाइबर ब्रेक भएको हुनसक्ने नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ। आइतबार बेलुका ६ बजेपछि फाइबर ब्रेक हुँदा बझाङमा फोन गर्दा आवाज नसुनिने, काटिने र इन्टरनेट सेवा नचल्ने समस्या देखिएको छ। डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन सानो विद्युत् पोल र लामो दुरी भएका कारण समस्या दोहोरिरहेको नेपाल टेलिकम बझाङ शाखा प्रमुख बमबहादुर सिंहले बताए।
उनका अनुसार ब्रेक भएको फाइबर जोड्ने प्राविधिक डडेल्धुरा वा अत्तरियाबाट आउनुपर्ने हुँदा सोमबार मात्रै सुचारु हुने सम्भावना छ। फाइबर ब्रेक हुँदा बझाङमा पुरानै रेडियो सिस्टम (वायरलेस) बाट आंशिक रूपमा सेवा प्रदान भइरहेको छ।