भारतीय विदेश सचिवको भ्रमण

थप हवाई रुटदेखि पञ्चेश्वरको विषय उठान

थप हवाई रुटदेखि पञ्चेश्वरको विषय उठान

काठमाडौं : नेपालले भारतसँग थप हवाई रुटसहित पञ्चेश्वर आयोजनाको बाँकी काम अगाडि बढाउने बारेमा छलफल गरेको छ। भारतीय विदेश सचिव दुई दिने भ्रमणका क्रममा नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्ध गराउन माग गरिएको छ।

भारतीय विदेश सचिव विक्रम मिश्री र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाबीच नेपाललाई थप ‘हवाई रुट’को विषय उठान भएको हो। हाल नेपालमा एउटा मात्रै हवाई रुट रहँदै आएको छ। 

उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरू लगायतका विविध विषयमा पनि छलफल भएको छ। भेटका क्रममा मन्त्री डा. राणाले नेपाल–भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीसँग कुराकानी गरेकी थिइन्। मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि छलफल गरेकी छन्। 

पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा. राणाले उठाएकी छन्। उनले पञ्चेश्वरको विषयमा धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा मिश्रीले आश्वासन दिएका छन्। मन्त्री डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव 
मिश्रीमार्फत भारत सरकारसँग कुरा उठाएकी छन्।

व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि द्विपक्षीय कुराकानी भएको छ। मन्त्री राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद दिएकी छन््। भारतीय विदेश सचिव मिश्रीले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलन नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका छन्। 

भेटमा मिश्रीले नेपालबाट १० हजार मेगावट बिजुली खरिद गर्ने गरी भएको सम्झौतालाई उठाएका थिए। प्रचण्ड प्रधानमन्त्री हुँदा भएको विद्युत् खरिद बिक्री गर्ने सम्झौता ऐतिहासिक भएको मिश्रीको भनाइ उल्लेख गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘हजुर प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जानुभयो। १० हजार मेगावट विद्युत् खरिद–बिक्रीको सम्झौता भयो, त्यो ऐतिहासिक छ।’

मिश्रीले नेपालबाट भारत जाने विद्युत् चाँडै १ हजार मेगावाट पुग्ने भन्दै ‘भारत जाने बिजुली अब छिट्टै १ हजार मेगावट पुग्छ, यो खबर सुनाउन पाउँदा हामी खुसी छौं,’ उनले प्रचण्डसँग भनेका थिए।  भेटमा प्रचण्डले आफू जुनसुकै भूमिकामा भए पनि नेपाल–भारत सम्बन्धलाई राम्रो बनाउन लाग्ने बताएका थिए।

विदेश सचिव मिश्री र पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालबीच पनि सचिवस्तरीय भेट भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईका अनुसार भेटमा दुई देशका बीचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको थियो। 

प्रवक्ताले राईले भने, ‘खासगरी यो कुनै एजेन्डागतको बैठक होइन। परिचयात्मक भ्रमणमा आउनुभएको हो।’ नेपाल–भारत सम्बन्धको सबै पक्षहरूमा छलफल र समीक्षा भएको हो। भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक छलफलहरूलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको हो।’

‘नेपाल भारत सम्बन्धको सबै पक्षहरूको बीचमा एक प्रकारले भन्ने हो भने रिभ्यु गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू समग्रमा छलफल भएको हो। भारतीय सहयोगबाट सञ्चालित विभिन्न कार्यक्रमहरूलाई आगामी दिनमा कसरी क्रियाशील बनाउने भन्ने विषय नै हो।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरू, केही मन्त्री,माओवादीका अध्यक्ष, नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतसँग पनि भेट गरेका थिए। उनी सोमबार रातिनै स्वदेश फर्किएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.