बंगुर स्वाइन फिभरले सखाप, व्यवसायबाट पलायन हुँदै किसान

बंगुर स्वाइन फिभरले सखाप, व्यवसायबाट पलायन हुँदै किसान
सुन्नुहोस्

टीकापुर : दक्षिणी सीमावर्ती मोहना नदीको किनार। हुलाकी सडकलाई कैलालीको पुरानो सदरमुकाम भजनी बजार जोड्ने बाटोको छेउमै छ, बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालि। एक दशकदेखि बंगुरपालन गर्दै आएका भजनीका जयबहादुर बुढा बंगुरका लागि सुदूरपश्चिममै स्रोत व्यक्तिका रूपमा चिनिन्छन्।

केही समयअघिसम्म उनको फर्ममा ७० वयस्कसहित ४ सय ८२ बंगुरले भरिभराउ थियो। फर्ममा पाँच सहयोगीसहित बंगुरको स्याहारसुसार गर्न, सरसफाइ गर्न, बच्चा हुर्काउन हम्मेहम्मे हुने गर्दथ्यो। 

२०७९ साल कात्तिकदेखि उनको फर्ममा रहेका बंगुर मर्न थाले। ‘बंगुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन थाले,’ बुढाले भने, ‘पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी र काठमाडौंको टोलीले परीक्षण गरेपछि बंगुरमा अफ्रिकन स्वाइनफिवर रोग लागेको रहेछ।’ 

फर्ममा बँचेका ७० बंगुरमा समेत रोग फैलिन नदिन भन्दै स्थानीय तहको रोहवरमा नष्ट गरेपछि रित्तिएको बुढाको फर्म हालसम्म रित्तै छ। ‘वर्षभरिको मेहनत, लगानीबाट प्रतिफल आउने बेला खोर नै रित्तियो, त्यसयता मैले बंगुर पाल्ने हिम्मत गर्न सकेको छैन’ बुढाले भने। भजनी नगरपालिकाको पशु सेवा शाखाले बुढाको उक्त फर्ममा ९५ लाख २० हजार रुपैयाँको क्षति भएको प्रतिवेदनसहित सिफारिस गरेको थियो। 

बुढाको उक्त फर्मको निरीक्षण गर्न तत्कालीन गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौंका डा. मुकुल उपाध्याय, डा. विनोद सञ्ज्याल र प्रदेश र संघीय सरकारका प्रतिनिधि पुगे पनि राहत र क्षतिपूर्ति दिनेतर्फ कसैले चासो नदिएको बुढाले बताए। 

पशुमा लाग्ने सरुवा रोगको उचित व्यवस्थापन हुन नसक्दा बुढामात्रै होइन कैलालीका धेरै किसान बंगुरपालन व्यवसायबाट पलायन भएका छन्। बंगुरमा देखा परेको महामारी स्वाइन फिभरका कारण बंगुरहरू मर्न थालेपछि व्यवसायी पलायन हुन बाध्य भएका हुन्। 

चार वर्षदेखि बंगुरपालन गर्दै आएका जानकी गाउँपालिका–१ दुर्गौलीका निकेत चौधरीले समेत व्यवसाय सुरु गर्न सकेका छैनन्। झन्डै एक करोड रुपैयाँको लगानी गरेर बंगुरपालन सुरु गरेका चौधरीका पनि स्वाइन फिभरबाट ४५ बंगुर मरे।  ‘व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ। स्वाइन फिभरले भए जति बंगुर मरे,’ उनले भने, ‘बैंकबाट ऋण लिएर फेरि बंगुरपालनलाई सुरु गर्न आँट आएको छैन।’

दुई वर्षअघि देखा परेको उक्त रोग फेरि देखिने डरले व्यवसायीले बंगुरपालन सुरु गर्न सकेका छैनन्। स्थानीय तहमा किसान तथा समूहमा बनाएर बंगुरपालन गर्दै आएका साना व्यवसायीसमेत रोगको डरले पलायन भएका हुन्। बंगुरपालन व्यवसाय कम भएपछि कैलालीमा बंगुुरको मासु अभाव हुन थालेको छ। त्यसकै कारण मूल्य चर्को रूपमा बढेको स्थानीय उपभोक्ताहरू बताउँछन्। 

‘दुई वर्ष अघिसम्म २ सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने बंगुरको मासु हाल पाँच सय पुगेको छ,’ टीकापुरमा बंगुरका मासु बिक्रेता राजकिरण चौधरीले भने, ‘कैलालीमा बंगुर नपाएर दाङ र पहाडी जिल्लाबाट खरिद गरेर ल्याउनु परेपछि मूल्य बढेको हो।’राष्ट्रिय गौरवको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइले समेत यस क्षेत्रका किसानलाई बंगुरपालनमा सहयोग गर्दै आएको थियो। रोगका कारण बंगुरपालनबाट किसान पलायन हुन थालेको कृषि कार्यक्रम कार्यान्वयन इकाइका पशु प्राविधिक पुष्पराज भारतीले बताए।

केही वर्षयता, बंगुर, खसी, बोका, राँगाको मासुमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित भइरहेको कैलालीमा रोगका कारण बंगुरको निर्यात रोकिएको छ। विगतका वर्षहरूमा यहाँबाट नेपालगन्ज, बुटवल, पोखरा तथा काठमाडौंसम्म मासु निर्यात हुँदै आएको थियो। हाल भने अन्यत्र जिल्लाबाट बंगुरको मासु ल्याउनु पर्ने बाध्यता छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.