परासी : बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने सडकमा यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबारको वर्षाका कारण पूर्वी नवलपरासी खण्डमा पर्ने दाउन्नेमा सडक भाँसिएपछि मर्मतका लागि यातायातमा रोक लगाउनु परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
मंगलबार बिहानदेखि भाँसिएको सडक मर्मत थालिएको र दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा आउन सक्ने पौडेलले बताए । २ बजे यातायात सञ्चालन आउने जनाए पनि दोहोरो सवारी साधन सञ्चालन भने तत्काल आउन सक्ने सम्भावना नदेखिएको दाउन्नेका एक होटल व्यवसायीले बताएका छन्।
भाँसिएको सडक मर्मतमा समय लाग्ने भएपछि जिल्ला प्रहरी कार्यालयले सूचना नै निकालेर त्यस सडक खण्डमा हतारिएर यात्रा नगर्न यात्रुहरूलाई आग्रह गरेको छ । यातायात सञ्चालनमा रोक लगाएपछि पूर्वपश्चिम भएर चल्ने सवारी साधनहरू पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्किवासमा रोकिएका छन् ।
एम्बुलेन्सलाई भने काम रोकेर सावधानी पूर्वक ओहोरदोहोर गराउने प्रयास भइरहेको त्यहाँ खटिएका एक ट्राफिकले बताएका छन् । ६ वर्षअघि स्तरोन्नतिको काम सुरु भएको उक्त सडक खण्डको काम ४७ प्रतिशत मात्र सकिएको छ । तेस्रो पटक म्याद थपेको निर्माण कम्पनीले वर्षाका कारण काम गर्न नसक्ने जनाएको छ ।
११४ कि.मि. सो सडकखण्डको अधिकांश स्थानमा छाडिएको काम अलपत्र हुँदा सवारी आवतजावतमा समस्या हुँदै आएको छ । जसका कारण बुटवलबाट नारायणगढ पुग्न लाग्ने २ घण्टाको समयलाई ६ देखि ७ घण्टा लाग्दै आएको छ ।