नवीकरण शुल्कले टिकाएको बिमा व्यवसाय

नवीकरण शुल्कले टिकाएको बिमा व्यवसाय
सुन्नुहोस्

काठमाडौं : पछिल्लो समय अर्थतन्त्र कमजोरबाट परेको चौतर्फी प्रभाव बिमा व्यवसायमा पनि देखिएको छ। समग्रमा जीवन बिमा व्यवसायको अवस्था सामान्य देखिए पनि गत आवको तथ्यांक केलाउँदा यसअघि जारी बिमालेखबाट भएको नवीकरण शुल्कले समग्र जीवन बिमा व्यवसाय टिकाएको देखिन्छ।

सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीमा गत आर्थिक वर्षमा कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन भएको छ। कुल बिमाशुल्क अघिल्लो आवको भन्दा केही बढेकै छ। अर्थात् कम्पनीहरूको बिमाशुल्क संकलन वार्षिक ९.८२ प्रतिशतले वृद्धि भएको छ। यसअघि आव २०७९/८० मा १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए।

गत वर्ष कुल बिमा शुल्कमा प्रथम बिमा शुल्कको तुलनामा नवीकरण बिमा शुल्कको हिस्सा अधिक छ। कुल बिमा शुल्कमा ७८.०३ प्रतिशत हिस्सा नवीकरण शुल्कमार्फत मात्रै उठेको छ। अर्थात् सो वर्षभर नवीकरण बापत मात्रै १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख ५७ हजार रुपैयाँ बिमा शुल्क संकलन भयो। तर सोही वर्ष मात्रै भएको प्रथम बिमा शुल्कवापत ३४ अर्ब ३४ करोड ९३ लाख १४ हजार रुपैयाँ संकलन भएको छ। यो कुल बिमा शुल्कको २१.९७ प्रतिशत हो। 

जीवन बिमा कम्पनीहरूले गत वर्ष १ करोड ३७ लाख ७४ हजार ६ सय ३५ वटा बिमालेख बिक्री गरेका छन्। यो सक्रिय बिमालेख संख्या हो। तुलनात्मक रुपमा बिमालेखको संख्या घटे पनि उक्त अवधिमा बिमाशुल्क संकलन वृद्धिबाट धेरै रकमको बिमा भएको बिमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।

अर्थतन्त्र गतिशील नभए पनि समग्रमा बिमा व्यवसाय देखिने गरी प्रभाव नपरेको हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजलाल कर्ण तर्क गर्छन्। यद्यपी प्रथम बिमा शुल्कभन्दा नविकरण गर्नेहरूको सक्रिय सहभागिताले बढी शुल्क उठेकाले समग्रमा बिमा शुल्क संकलन उकासिएको उनको भनाइ छ। उनी भन्छन्, ‘अघिल्लो वर्षको तुलनामा गत वर्ष करीब १० प्रतिशत बिमाशुल्क बापतको आम्दानी वृद्धि भएकालाई राम्रो मान्नु पर्छ।’ यसैक्रममा उनी बिमाको महत्वबारे बताउँदै घरपरिवार सुरक्षित राख्न पनि यो जरुरी भएको औंल्याउँछन्। 

बिमा शुल्क संकलन गर्ने अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स

जीवन बिमा व्यवसायमा प्रायः अग्रस्थानमा देखिन्छ। आव २०८०/८१ मा पनि जीवन बिमामा सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने नेपाल लाइफले कुल बिमा शुल्कमा २६.१३ प्रतिशत ओगटेको छ। १४ जीवन बिमा कम्पनीले गत आव १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेकोमा नेपाल लाइफले मात्र ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ हाराहारीमा उठाउन सफल भएको थियो। यसको सक्रिय बिमालेख संख्या पनि १४ लाख ६७ हजार १ सय २८ छन्। यसपछि बढी व्यवसाय गर्ने दोस्रो स्थानमा नेसनल लाइफ हो। यसले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ। यो कुलको १२.२८ प्रतिशत हो। यसको कुल सक्रिय बिमालेख संख्या १५ लाख ९८ हजार २ सय ६८ छ।

यसैगरी बिमा व्यवसायबाट शुल्क आर्जन गर्नेमा क्रमशः लाइफ इ. कर्पोरेसन (नेपाल) लि.ले १८ अर्ब १० करोड, हिमालयन लाइफले १६ अर्ब ६० करोड, सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेका थिए। यसबाहेकका कम्पनीले ९ अर्बभन्दा कम बिमाबापत शुल्क कमाएका छन्। जसमा राष्ट्रिय जीवन बिमा ८ अर्ब ७१ करोड, मेट लाइफले ५ अर्ब ६७ करोड, एसियन लाइफले ८ अर्ब ५ करोड, आइएमई लाइफले ४ अर्ब ७४ करोड, सन नेपाल लाइफले ३ अर्ब ८८ करोड, रिलायबल नेपालले ४ अर्ब २० करोड, सिटिजन लाइफले ६ अर्ब २१ करोड, सानीमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ शुल्क आर्जन गरे। अझै ५७ प्रतिशत जनसंख्यामा छैन बिमाको पहुँच गत आव २०८०/८१ असारमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बिमासहित ४३.२७ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा छन्। यसबाहेक बाँकी ५६.७३ प्रतिशत जनसंख्यामा बिमाको पहुँच नपुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

अझ अहिलेको पहुँच आव २०७९/८० असारको तुलनामा १.११ प्रतिशतले घटेको छ। किनभने अघिल्लो आवमा ४४.३८ प्रतिशत जनसंख्या बिमाको दाएरामा आएका थिए। राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ सालको जनगणनाको प्रतिवेदनमा प्रकाशित जनसंख्याको वृद्धि प्रतिशतको आधारमा चालु आवको माघसम्मको जनसंख्या प्रक्षेपणको आधारमा कुल जनसंख्या ३ करोड ६ लाख २ हजार ४ सय ४८ छ। सोही संख्याका आधारमा सबै खालका बिमाको गणना गर्दा ४३.२७ प्रतिशत हाराहारीमा पहुँच पुगेको देखिन्छ। म्यादी जीवन बिमा (तोकिएको अवधिमा जोखिमवापत हुने तर परिपक्व भएपछि शुल्कफिर्ता गर्न नपर्ने), लघु जीवन बिमा र वैदेशिक रोजगार जीवन बिमाको तथ्यांक जोड्दा सो प्रतिशत बराबरको पहुँच पुगेको प्राधिकरणले बताएको छ। 

विकसित मुलुकमा झैं नेपालमा बिमाको महत्वबारे अझै पहुँच चाहेअनुसार बढाउन सकिएको छैन। अनिवार्य भनिएका बाहेकको बिमामा आम सर्वसाधारणको प्राथमिकता कमै पर्ने गर्छ। सरकारले निर्जिवन बिमाअन्तर्गत कुनै दुर्घटना, चोरी, ठक्कर वा अन्य घटनाबाट मोटर गाडी वा तेस्रो पक्षलाई हुने नोक्सानीको क्षतिपूतीका लागि मोटर बिमा गर्न भनेको छ। नेपालमा मोटर बिमाअन्तर्गतको तेस्रो पक्ष दायित्व बिमा अनिवार्य गरिएकाले यसबाहेकका ऐच्छिक बिमा गर्नेहरू द्रुत गतीमा बढेका छैनन्। यद्यपि समग्रमा बिमाको पहुँच बढाउन अझै जनचेतनाको खाँचो भएको सरोकारवालाहरू औंल्याउँछन्। 

अझै पछिल्लो समय अर्थतन्त्रमा मन्दी छाएकाले बिमाको पहुँच अपेक्षाअनुसार बढ्न नसकेको बिमा कम्पनीहरूको भनाइ छ। समग्रमा बिमालेखको संख्या घटे पनि बिमाशुल्क संकलन भने वृद्धि भएको छ। किनभने आव २०७९/८० मा बिमा सेवाप्रदायक कम्पनीले १ करोड ४१ लाख ३७ हजार जीवन बिमालेख जारी गरेका थिए तर आव २०८०/८१ मा उक्त संख्या १.८१ प्रतिशतले घटेर १ करोड ३८ लाख ८१ हजारमा सीमित भएको छ। तथ्यांक केलाउँदा यसबीच केही हदसम्म घट्यो। कतिपयले गरेका बिमालेख अवधि सकिएको अर्थात परिपक्व भएकाले बाहिरिएकाले पनि समग्रमा केही बिमालेख घट्न गएको बिमा कम्पनीहरू बताउँछन्।

कुल बिमा शुल्कमा ७८ प्रतिशत हिस्सा नवीकरणको छ ।  प्रथम बिमा शुल्कबाट ३४ अर्ब ३४ करोड संकलन भएको छ भने नवीकरणबाट १ खर्ब २१ अर्ब । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.