सभामुखले रास्वपाका सांसद ढकालको माइकको लाइन काटेपछि संसदमा विपक्षीको अवरोध
काठमाडौं : प्रतिनिधिसभामा विपक्षी दलहरूले विरोध जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल आकस्मिक समयमा तोकिएको समय र उठाउनुपर्ने विषयवस्तुभन्दा बाहिर गएर बोल्न थालेपछि सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका थिए।
बोल्दै गरेका सांसदलाई रोकेको भन्दै रास्वपा, राप्रपा र माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध जनाए। बैठकको आकस्मिक समयमा बोल्न सभामुख घिमिरेले तीन मिनेटको समय दिएका थिए। ढकालले आफ्ना भनाइ राख्ने क्रममा विद्युत महशुलका विषयमा बोल्दै थिए। तोकिएको समय र विषय वस्तु बाहिर गएर बोल्न थालेपछि सभामुखले उनको माइकको लाइन काटिदिएका थिए।
विरोधकैबीच सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानलेलाई बोल्न समय दिएपनि लामिछानेले ढकालले नै आफ्नो विषय राख्न पाउनुपर्ने बताए । विधुत महशुल भन्ने वित्तिकै लाइन काटिनु गम्भीर आपत्तीको विषय भएको उनले बताए।
सोही समयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक समयमा बोल्ने सांसदहरूलाई विषयवस्तुमा बाँध्न नमिल्ने बताए। उनले मनमा लागेको विषयमा सांसदहरूले बोल्न पाउनुपर्ने बताए।। उनले भने,'आकस्मिक समयको यो पटकबाट परम्परा बिगारिरहेको छ। सांसदहरूलाई तिमीले यो मात्रै बोल्न पाउँछौं भनेर पहिला नै यो विषयमा लेखाएर बोल्न पाउनुपर्छ भन्ने व्यवस्था मान्य हुँदैन। जनताका प्रतिनिधिले आफ्ना कुराहरू राख्छन् । त्यो संविधान विपरीत, संसदको नियमावली विपरीत भयो भने मात्रै सभामुखले प्रतिबन्ध गर्ने आफ्नो ठाउँमा छ। यो विषय बोल्न पाउँछ, त्यो विषय बोल्न पाउँदैनौं भन्न मिल्दैन मान्य हुँदैन।' सांसदहरूको विशेषाधिकारमा नियन्त्रित गर्ने कुरा मान्दैनौं।'
सभामुखले बैठकमा सांसदहरूले उठाएको विषयमा ध्यानाकर्षण भएको भन्दै बैठक अगाडि बढाउन आग्रह गरे। 'आकस्मिक समय के हो ? र कसरी गर्ने ? भन्ने बारेमा हामीले गरेको नियमावलीको व्यवस्थातिर आकर्षित गराउन चाहन्छु । यसअघि प्रमुख सचेतक र मुख्य सचेतकसहित दुई घण्टा विशेष समयको व्यवस्था गरिएको हो। आकस्मिक समयमा बोल्ने सदस्यरूलाई ३ मिनेट भित्र विषय केन्द्रित भएर कुरा राख्न अनुरोध गरिएको कुरालाई ध्यानाकर्षण गराउँदछु, 'सभामुखले भने।'