नवलपरासीका सीमाबाट चोरी तस्करी बढ्यो
परासी : भारतसँग सिमाना जोडिएका नवलपरासीका विभिन्न नाकाबाट केही समयदेखि तस्करी बढेको छ। यी नाकाहरूबाट नेपाल र भारतदुवैतर्फ अवैध सामान ओसार पसार कार्य बढेको पाइएको हो। नेपालबाट भारततर्फ सामान तस्करी हुनेमा वीरगञ्ज हुँदै तेस्रो मुलुकबाट आएको चाइनिज लसुन, चाइनिज लाइटर, केराउ, कवाडी सामग्री, नास्पाती लगायतका छन्।
नेपालभन्दा बढीमा बिक्री हुने भएकाले त्यस्ता सामग्री भारततर्फ तस्करी हुने गरेको हो। त्यसैगरी भारतबाट नेपालतर्फ सामान तस्करी हुनेमा खसी, बोका, राँगा, माछा, चामल, मोबाइल, मोबाइलका पार्ट्स, काजु, बदाम, चिनी, जुत्ता, चप्पल, कपडा, इलेक्ट्रोनिक लगायतका सामान रहेको बताइएको छ। सीमा क्षेत्रबाट दुई देशतर्फ ठूलो मात्रामा तस्करी कार्य बढेको छ।
जिल्लाको भूजहवा, पाचपेडा, बसैया, गेर्मी, अमानिगञ्ज, रामनगर नाकाबाट त्यस्ता सामानहरूको तस्करी बढेको हो। मातहतमा रहेका सीमा क्षेत्रका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जले माथिल्लो निकायमा रकम बुझाउनु पर्छ भन्दै कारोबारीहरूसँग रकम उठाउने गरेको आरोप लाग्न थालेको छ। भारतबाट ल्याइएका खसी, बोकालाई कारोबारीहरूले रातको ११ बजेदेखि बिहान ३ बजेसम्म नेपालमा ल्याउने र सीमा क्षेत्र र गोपिगञ्जमा खोर बनाएर राख्ने गरेका छन्। त्यसरी राखिएका खसी, बोकालाई कारोबारीहरूले नेपालबाटै खरिद गरेको भन्दै नक्कली बिल बनाएर अन्यत्र पठाउने गरेको बताइएको छ।
तस्करी बढेको चौतर्फी आलोचना आएपछि केही दिनअघि भारततर्फ लैजाँदै गरेको लसुन र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मोबाइल बरामद गरिएको थियो। २० दिनअघि नेपालबाट भारततर्फ लैजाँदै गरेको एक ट्रक लसुन र केही दिन अघि एक ट्रक खसी, बोका नियन्त्रणमा लिइएको प्रजिअ श्रेष्ठले जानकारी दिइन्।
त्यसैगरी हप्ता दिनअघि मात्र सशस्त्र प्रहरीले ३३ लाख बराबरको मोबाइल र मोबाइलमा प्रयोग हुने टेम्पर बरामद गरेको थियो। भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुँडालले एक महिनाको अवधिमा ५३ बोरा चाइनिज लसुन बरामद भएर आएको बताए।
यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी ज्ञानेन्द्र फुयाल र सशस्त्र प्रहरी बल नं. २६ गण नवलपरासीका प्रमुख एसपी प्रकाश वाग्लले चोरी निकासी नियन्त्रणका मातहतका युनिटलाई कडा रूपमा परिचालन गरिएको र आफूहरूले पनि निगरानी गरिरहेको बताएका छन्। प्रहरीकै मिलमतोमा तस्करी भएको आरोपबारे लुम्बिनी प्रहरी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी)कुबेर कडायतले चोरी तस्करी नियन्त्रण गर्न जिल्लालाई कडा निर्देशन दिएको बताए।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका नायब महानिरीक्षक(डीआइजी) अभिकुमार खत्रीले चोरी तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि युनिटहरूलाई कडा निर्देशन दिइएको बताए।