झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा : झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीका ४२ वर्षीय च्याङवा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गएराति ९ बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो।
घाइते तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो। उनको उपचारका क्रममा मंगलबार दिउँसो पौने ११ बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका-१ का १९ वर्षीय श्रवण राजवंशी समेत घाइते भएका थिए। उनको निधार र टाउकोमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको छ।
यता प्रहरीले मोटरसाइकल चालक कचनकवल-१ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएको छ।