दाउन्नेको अवरोधले बुटवल–नारायणगढको यात्रा बुधबार पनि कठिन
परासी : पूर्वी नवलपरासीको दाउन्ने पहाड क्षेत्रमा भाँसिएको सडक मर्मत भइरहेकाले बुटवल–नारायणगढको यात्रा कठिन भएको छ। सोमबार साँझदेखि भाँसिएको सडक मंगलबार दिनभरजसो मर्मत गरिए पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन।
बुधबार बिहानैदेखि फेरि मर्मत कार्य सुरु गरिने जनाइए पनि सिमसिमे पानी परिरहेकाले काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।
मंगलबार दिउँसोदेखि पहाड काटेर भाँसिएको सडक मर्मत गरेर एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो। तर रातिदेखि परेको पानीका कारण सडकमा रहेको माटोलाई लेदो बनाएपछि अहिले यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए।
दाउन्नेको प्रमुख बजारको पूर्वतर्फ करिब ५० मिटरको सडक भाँसिएको छ। ५/७ मिटरको दरले पहाड काट्दै सडकलाई मर्मत गराउँदै आइएको थियो। पानी परिरहेकाले पहाड काटेर मर्मत गर्न सम्भव नभएकाले सडकको लेदो हटाउँदै २/२ घण्टाको अन्तरालमा केही गाडीहरू पास गराउँदै आउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पानी नरोकिए बुधबार दिनभर पनि सडक पूर्णरुपमा सञ्चालन हुन कठिन देखिएको प्रहरीले जनाएको छ। सडक अवरोध भएपछि पूर्व पश्चिम भएर चल्ने सवारी साधनहरू पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्किवासमा रोकिएका छन्।