महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको हकमा १० वर्ष राख्नुपर्ने प्रस्ताव
काठमाडौं : सरकारद्वारा गठित कार्यदलले नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपीको पदावधी ३ वर्षे गर्न सुझाव दिएको छ। प्रहरीको उमेरहदसम्बन्धी अध्ययन गर्न सरकारले गत जेठमा कार्यदल गठन गरेको थियो।
उपप्रधान एंव गृहमन्त्रीस्तरीय निर्णयअनुसार गठन भएको कार्यदलमा गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आर्चाय संयोजक थिए। गृह मन्त्रालयका उपसचिव कृष्ण गैरे, सशस्त्रका डीआईजी दीपेन्द्र शाह, नेपाल प्रहरीका डीआईजी राजन अधिकारी, विज्ञ पूर्वडीआईजी पुरुषोत्तम कँडेल र गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव ऋषि पौडेल सदस्य रहेका थिए। उक्त कार्यदलले केही दिन अघि गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा प्रहरीको उमेर हद, पदावधि, सेवाअवधीलगायतका धेरै विषयमा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ।
कार्यदलका सदस्य तथा गृह मन्त्रालयका उपसचिव कृष्ण गैरेका अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको आइजीपीको अहिलेको पदावधि ४ वर्षको रहेको छ। यसलाई घटाएर ३ वर्षको बनाउन प्रतिवेदनमा सुझाव दिइएको छ।
गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउनका लागि सुझाव दिइएको छ। प्रहरीमा ३० वर्षे सेवाअवधीको विषयमा पटक–पटक चर्चा र बहस हुने गरेको छ। ३० बर्षे सेवाअवधीको बाध्यकारी नियम हुँदा सक्षम र काविल प्रहरी कर्मचारी छिट्टै अवकाशमा जाने हुँदा राज्यलाई क्षति हुने गरेको भन्दै विरोध हुने गरेको छ। यही विषयमा सम्बोधन गर्न कार्यदलले प्रहरीमा रहेको ३० वर्षे सेवाअवधी हटाउनुपर्ने सुझाव दिएको छ।
उमेर हदको विषयमा पनि केही परिवर्तन गर्नुपर्ने भनिएको छ। कार्यदलका सदस्य गैरे भन्छन्, ‘प्रहरीमा ४/५ अवस्था राखेर बाध्यकारी रुपमा अवकासमा जानैपर्ने व्यवस्था रहेको छ। जुन समय अनुकूल छैन। देशका सबै कर्मचारीको सेवा सुविधा समान बनाउन पनि विभेदकारी रुपमा भएका केही व्यवस्था परिवर्तन गर्नुपर्ने सुझाव कार्यदलले दिएको हो।’
प्रतिवेदनमा ३० वर्षे सेवाअवधि हटाउने भनिएको छ। हटाउँदा एकैपटकमा नहटाउन भनिएको छ। तर प्रत्येक आर्थिक वर्षमा ६ महिनाका दरले थप्दै जाने प्रस्ताव गरिएको छ। यो वर्ष अवकासमा जाने प्रहरी अधिकृतको सेवाअवधि ६ महिनाले थप गर्ने, अर्को वर्ष रिटायर्ड हुनेलाई अर्को ६ महिना थपेर १ वर्ष बनाउने, यही रूपमा क्रमबद्ध रूपमा सेवाअवधी हटाउने सुझाव छ।
प्रतिवेदनमा प्रहरी महानिरीक्षकको पदावधि ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष, एसएसपीको ८ वर्ष र एसपीको हकमा १० वर्ष राख्नुपर्ने प्रस्ताव छ। अवकाशमा जाने उमेर हद आईजीपीको ६०, एआईजी र डीआईजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डीएसपीको ५७ वर्ष बनाउन प्रस्ताव गरिएको छ। कार्यदलले प्रहरी र सशस्त्रमा समान पदावधि बनाउन सुझाव दिएको छ।
प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार अहिले प्रचलनमा रहेको प्रहरी नियमावलीमा, आईजीपीको पदावधि ४ वर्ष, एआईजीको ४ वर्ष डीआईजी ५ वर्ष एसएसपीको ६ वर्ष र एसपीको १० वर्ष रहेको छ। प्रतिवेदन कार्यान्वयनमा गएको अवस्थामा आईजीपीको पदावधि १ वर्ष घट्नेछ भने एसएसपीको पदावधि २ वर्षले बढ्नेछ।