शक्ति आर्जन गर्न माधव नेपालको साथ खोज्दै प्रचण्ड

शक्ति आर्जन गर्न माधव नेपालको साथ खोज्दै प्रचण्ड

काठमाडौं : ‘पार्टीभित्र र बाहिर अप्ठ्यारो’ मा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सोमबार ‘गोप्य’ भेटवार्ता गरे।

‘पार्टी एकता गरौं, तपाईं (माधव नेपाललाई) प्रधानमन्त्री बनाउन म पहल गर्छु,’ प्रचण्डको प्रस्ताव थियो। पार्टी एकताप्रति नेपाल सकारात्मक देखिए। तर, प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावप्रति विश्वस्त बनेनन्। 

प्रचण्डको चलखेलकै कारण ‘मुखको प्रधानमन्त्री’ पद गुमेको र पटक–पटक ‘धोखा’ खाएको नेपालको बुझाइ छ। ‘पार्टी एकताका विषयमा त हामी सकारात्मक नै छौं। तर, प्रधानमन्त्रीका लागि प्रचण्डले राख्नुभएको ‘ललिपप’ मा विश्वस्त हुने आधार छैन,’ नेपाल निकट स्रोतले भन्यो।

तत्कालीन नेकपा विवाददेखि माओवादी प्रतिपक्षमा पुग्दासम्म प्रचण्डकै साथमा उभिएका पूर्वप्रधानमन्त्री नेपाल ‘प्रचण्डलाई सहजै विश्वास गर्ने’ अवस्थामा भने नरहेको उनी निकट नेताहरू बताउँछन्। कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्दा प्रचण्डले ‘धोखा’ दिएको नेपालको बुझाइ छ। कांग्रेससहितको गठबन्धनमा ‘एक वर्ष नेपाललाई प्रधानमन्त्री’ बनाउने सहमति थियो। तर, प्रचण्डले रातारात कांग्रेससँगको सहकार्य तोड्दा उक्त अवसर गुमेको नेपाल पक्षधर नेताहरूको बुझाइ छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब र प्रतिपक्षमा पुगेपछि शक्ति प्राप्तिका लागि प्रचण्डले नेपालको साथ खोजेको उनी निकट नेताहरू बताउँछन्। ‘भित्र बाहिर अप्ठ्यारोमा परेपछि शक्ति आर्जनका लागि गरिएको अर्को मञ्चन मात्रै हो,’ नेपाल निकट स्रोतले भन्यो, ‘आफू अप्ठ्यारोमा पर्दा साथ खोज्ने, तर आफूलाई फाइदा हुँदा जति बेला जोसुकैलाई पनि लात हान्ने प्रचण्डको बानी हामीले पनि नचिनेको होइन।’ 

प्रचण्डको चलखेलकै कारण ‘मुखको प्रधानमन्त्री’ पद गुमेको र पटक–पटक ‘धोखा’ खाएको नेपालको बुझाइ छ।

विगतमा आफूसँग ३२ सिटको म्याजिक नम्बर रहेको भन्दै पाँचै वर्ष सत्ताको नेतृत्व लिइरहने दाबी गरेका प्रचण्डको सपना कांग्रेस र एमाले मिलेर तुहाइदिएका थिए। पहिलो ठूलो दल कांग्रेस र एमाले मिलेर सत्ता सञ्चालन गरेपछि प्रचण्ड एकाएक विपक्षमा पुगेका थिए। त्यसयता प्रचण्डले आफू अब प्रधानमन्त्री नबन्नेदेखि नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन्।

‘अत्यन्तै चलायमान र अस्थिर’ प्रचण्डविरुद्ध स्थायी कमिटी बैठकमै नेताहरूले पद छोड्न दबाब बढाएपछि उनी थप अप्ठ्यारोमा परेका हुन्।उपमहासचिव जर्नादन शर्माले विभिन्न आरोपसहित पद हस्तान्तरण गर्न बैठकमा लिखित प्रस्ताव नै पेस गरे।

एमालेका नेता केपी ओलीले कांग्रेससँग मिलेर सरकार बनाएपछि प्रचण्ड भयभीत बनेका हुन्। कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्ने र आफ्नो दल विभाजन गर्ने त होइनन भन्ने आशंका प्रचण्डलाई रहेको उनी निकट नेताहरू बताउँछन्। 

कति सम्भव छ माओवादी—एसको एकता ? 

सहकार्य र एकताका लागि माओवादी पार्टीका अर्का नेता गिरिराजमणि पोखरेलले एकीकृत समाजवादी पार्टीसँग आफ्ना पार्टीका नेताहरूले निरन्तर कुरा गरिरहेको बताउँछन्। माओवादीका पार्टी उपाध्यक्ष तथा प्रवक्ता भन्छन्, ‘माधवकुमार नेपालजीलगायत पार्टी एकीकरण गर्ने कुरा भइरहेको छ। समाजवादी मोर्चामा रहेका दलहरूबीच सहकार्य गर्दै वामशक्ति निर्माण गर्नेतिर अध्यक्ष प्रचण्डजीले पहल लिनुभएको छ।’ 

भखरै सम्पन्न एकीकृत समाजवादी पार्टीको महाधिवेशनले वामपन्थी शक्तिसँग एकता गरेर जाने र त्यसका लागि बाटो खुला गर्ने नीति लिएको छ। प्रचण्डले प्रस्ताव गर्दैमा पार्टी एकता तुरुन्त हुने अवस्था भने नरहेको एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य शत्रुघन महतोले बताए।

‘माओवादीसँग पार्टी एकता त्यसै हुँदैन, विचार, सिद्धान्तमा पहिला बहस हुन्छ। वामशक्तिबीच एकता र धुव्रीकरण गर्ने एजेन्डा हाम्रो पार्टीको पनि हो’, एकीकृत समाजवादी पार्टी नेता महतो भन्छन्, ‘पार्टी सहकार्य र एकताका लागि प्रचण्डजीले कुरा राख्नुभएका बारे मिडियामा कुरा आएको छ। उनले कुन ढंगले कुरा राख्नुभयो ? त्यो कुरो पार्टीमा आउनु परो। अनि त्यसमा छलफल र बहस हुन्छ।’

सत्ता र पार्टीभित्र प्रचण्ड कमजोर भएकाले समाजवादी मोर्चाको बलियो साथ खोजिरहेका छन्। कमजोरले बलियो हुन अरूको साथ खोज्नु मान्छेको स्वाभाविक मनोविज्ञान रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। उस्तै—उस्तै विचार भएकाले प्रचण्डले यतिखेर शक्तिआर्जन गर्न माधवकुमार नेपालको साथ खोजेको उनको बुझाइ छ। 

संसदभत्र र बाहिर प्रचण्ड र माधव एकअर्काको परिपूरक छन्। एजेन्डा, कुरा र विशेष मिल्दो जुल्दो रहेको छ। ‘माओवादी र एकीकृत समाजवादी दुवै (समाजवादी अनि कम्युनिस्ट) पार्टी नै हुन्। दुवै नेताको बढी मनोविज्ञान पनि मिल्छ। अर्को कुरो, केपी ओलीभन्दा माधवकुमार नेपालसँग प्रचण्डको राजनीतिक कुरा ठ्याक्कै मिल्छ’, विश्लेषक श्रेष्ठ भन्छन्, ‘फेरि माधवकुमार नेपालाई पनि प्रचण्डकै साथ चाहिएको छ।

उनको कुरा पनि प्रचण्डसँगै मिल्छ।’ अब माधवकुमार नेपाललाई प्रचण्डले तत्कालै प्रधानमन्त्री बनाउने कुरा पर पुगिसकेको उनले बताए, ‘सरकार ढलिसक्यो। प्रधानमन्त्री कसले कसलाई बनाउने अब कुरो रहेन। कसरी राजनीतिमा टिक्ने प्रचण्ड र माधवजीको एउटै समस्या हो। ’ null

प्रचण्डका लागि माधव उपयुक्त पात्र 

राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार सत्ता, पार्टी संगठन वा सत्ता बाहिरको राजनीतिमा प्रचण्डका लागि अनुकूल पात्र (कार्ड) माधवकुमार नेपाल नै हुन्। ‘केपी ओलीसँग धुव्रीकरण हुँदा प्रचण्डजीका लागि अनुकूल पात्र माधवजी बन्न पुग्नुभएको छ।’ त्यसैले प्रचण्डले सत्तामा हुँदा र बाहिर आउँदा माधवकुमार नेपालको साथ खोजिरहेको उनले बताए, ‘अहिले प्रचण्ड सत्ताभन्दा बाहिरको संगठनमा हुनुहुन्छ। त्यहाँ पनि उहाँलाई आन्तरिक र बाह्य परिस्थिति मिलाउन माधवजीलाई खोज्दै हुनुहुन्छ।’ 

माओवादी र एकीकृत समाजवादी पार्टीबीच पार्टी एकता हुने सम्भव रहेको राजनीतिक विश्लेषक श्रेष्ठको दाबी छ। ‘दुवैमा पार्टीमा खासै फरक छैन। राजनीति पनि उस्तै छ। कम्युनिस्ट भने तापनि दुवै संसदवादी पार्टी नै हुन’, श्रेष्ठ भन्छन्।

विगतमा आफूसँग ३२ सिटको म्याजिक नम्बर रहेको भन्दै पाँचै वर्ष सत्ताको नेतृत्व लिइरहने दाबी गरेका प्रचण्डको सपना कांग्रेस र एमाले मिलेर तुहाइदिएका थिए।

तर, विश्लेषक चन्द्रकिशोर भने प्रचण्ड र माधव नेपालको पार्टी एकता हुन नसक्ने बताउँछन्। उनी भन्छन्, ‘पार्टी एकता भयो भने माधवजीको अस्तित्व नै संकटमा पर्छ। माधवजी यस्तो ठाउँमा उभिनुभएको छ कि उहाँ बिस्तारै—विस्तारै पाइला चाल्नुहुन्छ। न उहाँ प्रचण्डजीमा आफूलाई विलय गर्नुहुन्छ न त पार्टीलाई बिसर्जन गर्नुहुन्छ।’ 

विश्लेषक श्रेष्ठले माओवादी र एकीकृत समाजवादीभित्र पार्टी एकता गर्न नहुने नेताहरूको मत पनि बलियो रहेको बताउँछन। ‘पार्टी एकता भए को हाबी हुन्छ ? ’ भन्ने कुराले महत्व राख्छ। विश्लेषक श्रेष्ठ भन्छन्, ‘प्रचण्डले आँटेपछि जोसँग पनि पार्टी एकता हुन्छ तर, माधव कुमार नेपालले आँटेर मात्रै हुँदैन। पार्टीभित्र अरू पनि छन् जसलाई नसोधिकन, छलफल नगरिकन माधव नोपल चल्न सक्नुहुन्न। दुवै नेतामा फरक त्यति मात्रै हो।’

नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने माग माओवादीमा जोडले उठेको छ। चार दशकदेखि पार्टीको एकल नेतृत्वमा रहेका प्रचण्डलाई सत्ताको नेतृत्व र पार्टी संरक्षक बन्न माओवादीका उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा एजेन्डा पेस गरेका छन्।

विश्लेषक श्रेष्ठ भन्छन्, ‘२०४१ सालदेखि माओवादी पार्टीको नेतृत्वमा प्रचण्ड छन्। पार्टीका नेताहरू आर्यघाटमा नपुगेसम्म कुनै पनि पार्टीका अध्यक्षले नेतृत्व छोड्ने वाला छैनन।’ यस्तो किन ? भन्ने प्रश्नमा श्रेष्ठ थप्छन्, ‘सत्तामा पुगेपछि धेरै कुराको स्वाद पाउँछन्। अनि अहंकार पैदा हुन्छ। सत्ताको रसले नेताहरू जीवनभर पार्टीको अध्यक्ष छोड्दैनन्।’ 

‘अब प्रचण्डको समय सक्यो’ 

पार्टीभित्र प्रचण्डमाथि निरन्तर नेतृत्वकै कारण पार्टी कमजोर भएको भन्दै नेताहरू प्रश्न उठाइरहेका छन्। प्रचण्डले यो बहसलाई मत्थर पार्न आफू निकट नेताहरूलाई बोल्न लगाएका छन्।

‘तत्काल पार्टी नेतृत्वमा प्रचण्डको विकल्प छैन।’ राजनीतिमा प्रत्येक पात्र र नाराको निश्चित समय हुन्छ। प्रचण्डको नारा र नेतृत्वको समय सकिन लागेको राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘उहाँले नयाँलाई मौका दिनुपर्छ।’ उनका अनुसार प्रचण्डले सत्ता बाहिर आएपछि ‘बलियो शक्ति हुँ’, भन्नका लागि माधव कुमार नेपालको साथ खोजेर ‘राजनीतिक स्टन्ड’ गर्न लागेको कुरा लुकेको छैन।

‘समाजवादी मोर्चा प्रचण्डको मृगतृष्णा र दिवास्वपन हो। आजसम्म कहिले पनि कम्युनिस्टहरू एकजुट भएका छैनन्’, उनी भन्छन्, ‘मोर्चा बनाउने नाममा राजनीति भइरहेको छ। केही समय राजनीतिक विमर्शहरू चल्छ।’ अहिलेका शीर्षस्थ नेताहरू नेतृत्वमा रहेसम्म वामपन्थी गठबन्धन स्थायी रुपमा हुने कुनै सम्भावना नरहेको उनले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.