दशौं राष्ट्रिय खेलकुदको तयारी : कर्णालीमा तयार भए तीनवटा क्रिकेट मैदान

दशौं राष्ट्रिय खेलकुदको तयारी : कर्णालीमा तयार भए तीनवटा क्रिकेट मैदान
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र बनेको छ। आउँदो मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रदेश राजधानी वीरेन्द्रनगरमा हुनेछ। कर्णालीमा हालसम्म यो स्तरको प्रतियोगिता हुन सकेको छैन। 

पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाएको कर्णाली यतिबेला भौतिक पूर्वाधार लगायतका तयारीमा जुटेको हो। हालसम्म राष्ट्रिय प्रतियोगिता नभएको कर्णालीले दशौं खेलकुदलाई प्रतिष्ठानका रूपमा लिएको छ। यसैका लागि प्रतियोगितालाई सफल बनाउन आवश्यक पूर्वाधार निर्माण भइरहेका छन्। 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा एकैसाथ तीन वटा क्रिकेट मैदान तयार भएका छन्। क्रिकेट प्रतियोगिता सञ्चालनका लागि हालसम्म कर्णालीमा गतिला मैदान थिएनन्। तर दशौं खेलकुदका लागि लक्षित गर्दै सुर्खेतमा दुई वटा र रुकुमपश्चिममा एउटा गरी तीन वटा क्रिकेट मैदान निर्माण भएका हुन्। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेल सञ्चालन गर्न एकैसाथ तीन वटा मैदान निर्माण गरिएका छन्। जसअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा दुई वटा मैदान निर्माण भएका छन्। वीरेन्द्रनगरस्थित कालिञ्चोक र प्रदेश रंगशाला नजिक गरी दुई वटा मैदान तयार भएका हुन्। 

परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कालिञ्चोक क्रिकेट मैदानमा पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए। यस्तै प्रदेश रंगशाला नजिकको क्रिकेट मैदानमा भने महिला क्रिकेट प्रतियोगिता आयोजना हुने उनको भनाइ छ। उनका अनुसार रुकुमपश्चिमको चौरजहारीमा रहेको क्रिकेट मैदानलाई भने प्रशिक्षणका रूपमा प्रयोग गरिनेछ। 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार कालिञ्चोक क्रिकेट मैदान निर्माणमा ७३ लाख १८ हजार ३३७ रुपैयाँ खर्च भएको छ। यो मैदान निर्माणका लागि गतवर्ष मंसिर १५ गते केपीडीडी कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। यो मैदान हाल निर्माण भएर प्रतियोगितासमेत सञ्चालन भइसकेको छ। 

यस्तै प्रदेश रंगशाला नजिक निर्माण भएको क्रिकेट मैदान निर्माणका लागि ४ करोड ५९ लाख ८० हजार ४७१ रुपैयाँ खर्च भएको छ। अभियान कन्स्ट्रक्सन काठमाडौंले यो मैदानको निर्माण गर्ने जिम्मा लिएको थियो। यो मैदानको निर्माण कार्य पनि हाल सम्पन्न भएको छ। परिषद्का सदस्यसचिव सञ्ज्याल भन्छन्,‘कालिञ्चोक मैदानमा पुरुष क्रिकेटको प्रतियोगिता हुन्छ, प्रदेश रंगशाला नजिकको मैदानमा भने महिला क्रिकेटको प्रतियोगिता सञ्चालन गर्नेछौं।’ 

चौरजहारी क्रिकेट मैदान निर्माणका लागि ५० लाख रकम उपलब्ध गराइएको थियो। यो मैदान निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले यो मैदानलाई क्रिकेटको प्रशिक्षणका लागि प्रयोग गर्ने योजना रहेको बताए। 

विगतमा एउटा पनि गतिलो मैदान नभएको कर्णालीमा अब तीनवटा क्रिकेट मैदान तयार भएको भन्दै उनले अब दशौं खेलकुदमा क्रिकेट प्रतियोगिता सञ्चालनका लागि कुनै समस्या नरहेको उनको भनाइ छ। सदस्यसचिव सञ्ज्याल भन्छन्,‘दशौं खेलकुदका लागि नै हामीले दिनरात लगाएर काम गरेका छौं, अब कर्णालीका कारण प्रतियोगिता रोकिँदैन। भौतिक पूर्वाधारको अभाव देखाएर अब प्रतियोगिता सार्न कसैले पाउँदैन, हामीले आवश्यक पर्ने सबै खेल पूर्वाधार तयार पारेका छौं।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.