हात्ती नियन्त्रणका लागि झापामा विद्युतीय तारबार जडान
झापा : जंगली हात्तीको आतंक बढेसँगै राष्ट्रिय प्रकृति संरक्षण कोषले झापामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार जडान कार्यलाई तीव्रता दिएको छ। हात्ती नियन्त्रणका लागि प्रकृति संरक्षण कोषले बिर्तामोड नगरपालिका वडा नम्बर ६, ७ र ८ का जंगल आसपासका बासिन्दालाई लक्षित गरी विद्युतीय तारबार जडानको काम बिहीबारदेखि सुरु गरेको छ।
बिर्तामोड-६ स्थित देउनियाँ पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार जडान गर्न लागिएको प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए। एक करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो। यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ। ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्म रहेको कोषका प्रदेश प्रमुख गौतमले बताए।
गौतमका अनुसार यसअघि झापाको मेचीनगरस्थित बाहुनडाँगी १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो। त्यसपछि कचनकवल, बाह्रदशी, हल्दिबारी, भद्रपुरले घेरिएको जलथल जंगल र चाराआली जंगलमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान भइसकेको उनको भनाइ छ।
बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बिहीबार एक कार्यक्रमका बीच विद्युतीय तारबार जडान कार्यको शिलान्यास गरेकी थिइन्। शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार प्रभावकारी भएको बताइन्। बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेको बताउँदै उनले भनिन्, ‘हात्तीका लागि मन पर्ने आहारा व्यवस्थापन गर्न पनि अब स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्छ।’
नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले मानव बस्तीमा हात्ती छिरेर जनधनको क्षति गर्दै आइरहेको अवस्थामा विद्युतीय तारबार जडानपछि क्षतिमा कमी आउने बताए। हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतकुमार राईले विद्युतीय तारबार निर्माणपछि स्थानीयको बालीनालीमा यस अघि हुने गरेको क्षति कमी आउनेमा विश्वस्त रहेको बताए।
जिल्लामा पछिल्लो समय (रैथाने) जंगली हात्तीको संख्या वृद्धि हुँदै गएको छ। पछिल्लो पाँच वर्षयता हात्तीको संख्या झन्डै तेब्बरले बढेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। रैथाने हात्तीमध्ये १० वटाको नामकरण गरिएको छ। जिल्लामा सुनौलो दाँते जग, घुमन्ते यव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अन्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको हात्ती रहेको उनले बताए।
२०७५ सालमा १०-१२ संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ। आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ भने २१ हात्तीको मरेका छन्। सो अवधिमा चार हजार पाँच सय हात्ती पीडितलाई ९ करोड बराबरको राहत वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।