विपद्मा परेका नागरिकका लागि स्थायी आवास निर्माण गर्न मापदण्ड तयार भइसक्यो : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले जस्तोसुकै विपद्मा परेका नागरिकको स्थायी आवास निर्माण गर्न अनुदान दिनका लागि मापदण्ड तयार गरेको बताएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सबै खालका विपद्बाट घर क्षति भएका नागरिकको अस्थायी आवास निर्माणका लागि अस्थायी आवास अनुदान मापदण्ड २०८१ तयार गरिएको बताए।
मन्त्रिपरिषद्बाट पारित भएपछि मापदण्ड कार्यान्वयन हुने उनको भनाइ छ। उनले २५-२५ हजार दुई किस्तामा रकम दिने गी मापदण्ड तयार भएको भन्दै स्थायी आवास बनाउनका लागि सरकारले गम्भीरताका साथ अघि बढिरहेको बताए।
उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूका लागि ३ अर्ब १६ करोड रुपैयाँ बिनियोजन भएको बताए।