प्रभाकरले हल्ला चलाए, पार्टी एकताबद्ध छ, फुट्दैन : दाहाल
काठमाडौं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा गलत र निराधार भएको बताएका छन्। पार्टी कार्यालयमा जारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले जनार्दन शर्माले पार्टी फुटाउँछ भन्याजस्तो विषयमा नभएको प्रष्ट पारे।
'केही समयदेखि पार्टी फुट्छ भनेर धेरै हल्ला भए। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए। यहाँ आउँदासम्म ती सबै भ्रम चिरिएका छन्। कामरेड प्रभाकरले पार्टी फुटाउँछ भन्याजस्तो जुन माहोल बनेको छ, त्यो बिलकुल गलत हो। हाम्रो पार्टी एकताबद्ध भएको छ,' उनले भने।
जनार्दन शर्मालगायत नेताहरूमाथि गरिएको आशंकालाई अध्यक्ष दाहालले ठाडै अस्वीकार गरेका थिए। शर्माले लगाएको आरोप पनि हल भइसकेको उनको दाबी छ। 'ती आरोपहरू सबै हल भइसक्यो,' दाहालले भने।
पार्टी उपमहासचिव शर्माले लिखितरूपमै नेतृत्व हस्तान्तरणको एजेन्डा बैठकमा पेस गरेका थिए। उनले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउँदै आएका छन्। उनको प्रस्तावमा दाहालले सरकारको नेतृत्व गर्ने, दोस्रो तहका नेताहरूले खबरदारी गर्ने र तेस्रो तहका नेताहरूलाई पार्टीको नेतृत्वमा ल्याउनुपर्ने उल्लेख छ।
त्यस्तै अध्यक्ष दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउने प्रयास गरिएको बताए। उनले परिपुरन र सम्मानजस्ता कार्यक्रम विधेयकमा राखिएको भन्दै पीडित सबैलाई ढुक्क हुन अपील गरेका थिए।
'लामो समय लगाएर टीआरसी विधेयकलाई पीडितमैत्री बनाउने प्रयास गरिएको छ। यसले पीडितहरूको मागलाई राम्रै सम्बोधन गरेको छ। पीडित संघसंस्था र साथीहरूलाई म ढुक्क रहन अपील गर्दछु। यसलाई हामी सबै मिलेर दृढतापूर्वक कार्यान्वयनमा लैझानुपर्नेछ। त्यसका लागि राम्रो आयोग बनाउन जरुरी छ। पीडितका लागि परिपुरन, सम्मान सबै कार्यक्रम राखिएको छ। त्यसैले अन्यथा नसोचौं,' उनले भने।
उनले केपी ओली नेतृत्वको सरकारको काम कारबाहीका विषयमा छिट्टै संसदमा बोल्ने बताए।