गोसाइँकुण्ड मेला अवधिभर २४ सै घण्टा सडक खुल्ला
रसुवा : गोसाइकुण्ड मेलाका लागि आउने यात्रीको समस्यालाई मध्यनजर गरी पासाङल्हामु सडकको धुन्चे, कालिकास्थान लगायतको ठाउँमा सडकखण्डमा अब चौबिसै घण्टा सवारी साधन सञ्चालन हुने भएको छ ।
यस अघि प्रकृतिको संरक्षण गरी अवैध ओसारपासर रोक्ने उद्देश्यले दिनभर मात्र सडक खुल्ला रहने गरेको थियो । यस अघि रातमा बन्द रहने गरेको थियो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले मेला अवधिभर चौबिसै घण्टा आवतजावत खुला हुने जनाएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूको महत्वपूर्ण पर्व, जनैपूर्णिमाको अवसरमा प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पूजा तथा दर्शन गर्न आउने जाने भक्तजनहरूको सेवा र सुविधालाई मध्यनजर गरेर आवतजावत खुला गरेको निकुञ्जले जनाएको छ।
धार्मिक प्रयोजनका लागि आवतजावत गर्ने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू भदौ ४ गतेसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको धुन्चे र कालिकास्थानमा रहेको चेक प्वाइन्टमा नियमित चेकजाँच गरी चौबिसै घण्टा आवतजावत खुल्ला रहने गरी व्यवस्था मिलाइएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए । मेलाको समयमा २४ सै घण्टा सडक खुल्ला हुनाले पार्वतीकुण्ड, गोसाइकुण्ड मेलाका यात्रीहरूलाई आवतजावत सहज हुने यात्रीहरु बताउँछन् ।