परराष्ट्र हाँक्दै महिला नेतृत्व

परराष्ट्र हाँक्दै महिला नेतृत्व

काठमाडौं : दुर्लभ संयोग नै मान्नुपर्छ– परराष्ट्रमन्त्री महिला, सचिव पनि महिला। परराष्ट्र मन्त्रालयको ७३ वर्षे इतिहासमा पहिलोपटक यस्तो संयोग जुरेको हो। दुई जना महिला नेतृत्वको काँधमा यतिबेला मुलुकको सिंगो परराष्ट्र सम्बन्धको जिम्मेवारी छ।

परराष्ट्र मन्त्रालयमा नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु देउवा राणालाई मन्त्रालयमा स्वागत गर्दाकै दिन परराष्ट्र सचिव सेवा लम्सालले भनेकी थिइन्, ‘महिला परराष्ट्रमन्त्रीज्यू र महिला परराष्ट्र सचिवले नेतृत्व गरेको यो ऐतिहासिक संयोग हो। सुखद संयोग पनि हो।’

सोही बखत सचिव लम्सालले भनेकी थिइन्। मन्त्री राणा महिला मात्र नभई अत्यन्त अनुभवी, परिपक्व र विद्वान् भएको नेतृत्व मन्त्रालयले पाएको छ।  त्यसैकारण पनि महिला मन्त्री र सचिवको कार्यकाल ‘सुखद र ऐतिहासिक’ हुने विश्वास गरेकी थिइन्। अनि, भनिन्, ‘उहाँको यत्तिका वर्षको अनुभव र पुरानो चिनजानले पनि काम गर्न पक्कै सहज हुनेछ।’ 

अन्य मुलुकसँगका मामिला हेर्ने सबैभन्दा उच्च निकाय हो, परराष्ट्र मन्त्रालय। 

अन्तर्राष्ट्रिय सम्बन्धका लागि महत्वपूर्ण निकाय पनि हो। राजनीतिक रूपमा महिला नेतृत्वले यसअघि परराष्ट्र मन्त्रालय हांकिसके पनि लम्साल भने पहिलो सचिव हुन। तर, मन्त्री र सचिव महिला नै भएको भने पहिलो पटक हो।  

०८० मंसिर २८ गतेको मन्त्रिपरिषद्् बैठकले लम्साललाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो। लम्साल परराष्ट्र मन्त्रालयको २५औं सचिव हुन्। २००७ सालमा राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा परराष्ट्र मन्त्रालय स्थापना भएको थियो। पहिलो परराष्ट्र मन्त्री भने सन् २००७ मा सहाना प्रधान भएकी थिइन्। त्यसपछि पनि सन् २००९ मा सुजाता कोइराला र गत वर्ष विमला राई पौड््याल परराष्ट्रमन्त्री बनेकी थिइन। राणा चौथो महिला परराष्ट्रमन्त्री हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रको जिम्मेवारी राणाको काँधमा गएको हो। परराष्ट्रमन्त्री राणाले पदभार ग्रहण गरेर काम सुरु गरेको पनि एकमहिना पूरा भइसकेको छ। परराष्ट्रमा धेरै महिला कर्मचारी देख्दा आफू उत्साहित भएको मन्त्री राणाले प्रतिक्रिया दिएकी थिइन्। पटक–पटक प्रथम महिला (फस्ट लेडी) को जिम्मेवारी बहन  गरिसकेकी राणा पहिलोपटक मन्त्री बनेकी हुन। यसअघि उनी प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन्। कृषि समितिको सभापति हुँदा केही प्रभावशाली कामबाट चर्चामा रहेकी राणा बर्दियाकी सम्पन्न किसान परिवारकी छोरी हुन्। 

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी  राणाको जन्म ०१८ माघ १३ मा भएको हो। उनी विनोदशमशेर जबरा र प्रतिभा राणाकी जेठी छोरी हुन्। आमा प्रतिभा राणा पनि राजनीतिमै आबद्घ छिन्। 

बर्दियाको मधुवन नगरपालिका–४ की राणाको माइती परिवार अहिले पनि खेती–किसानी गर्दै आएका छन्। मन्त्री राणाका पिता विनोदशमशेर अहिले पनि कृषि पेशामै आबद्ध छन्। बुवा आमा कृषक पृष्ठभूमिको भए तापनि उनको बाल्यकाल र किशोरावस्था अध्ययनको सिलसिलामा काठमाडौं र त्यसपछि भारत र अन्य देशमा बित्यो। राणा पीएचडी डाक्टर हुन्। उनले मनोविज्ञानमा पीएचडी गरेकी छिन्। उनले भारतको चण्डिगढस्थित पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी हुन्। पञ्जाब विश्वविद्यालयबाटै उनले मनोविज्ञानमै स्नातकोत्तर गरेकी हुन्। काठमाडौंको सेन्ट मेरिज, सिनियर क्याम्ब्रिजबाट ‘ओ’ लेभलको अध्ययन सकेपछि उनी सिमला गएकी हुन्। सिमला स्थित हिमाञ्चल प्रदेशबाट स्नातक गरेकी हुन्। देउवा गृहमन्त्री भएका बेला वैवाहिक बन्धनमा बाँधिएकी उनलाई कांग्रेसको सक्रिय राजनीतिमा आउन त्यसले पनि केही इँटा थप्ने काम ग¥यो।  यद्यपि उनी सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छिन्। 

विश्वभरिका समाजवादीहरूको साझा संस्था सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेकी परराष्ट्रमन्त्री राणाको आबद्धता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा छ।  अन्तर्राष्ट्रिय रूपमा महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी काम गर्ने अमेरिकामा मुख्यालय रहेको संस्था आईपीएएसको सदस्य (बोर्ड मेम्बर, सन् २०१४–२०१८) का रूपमा कार्यअनुभव बटुलिसकेकी राणाले ‘ह्वाइट रिबन अलाइन्स फर सेफ मदरहुड’को अध्यक्ष (सन् २०१०–२०१४) भएर काम गरिसकेकी छन्।

जोन्टा क्लब अफ नेपालको संस्थापक तथा बोर्ड सदस्य (सन् २०१३) रहेकी राणा जोन्टा नेपालबाट संयुक्त राष्ट्रसंघीय समिति तथा लंैगिक हिंसामा आधारित अध्यक्ष समितिमा समेत प्रतिनिधित्व गरिसकेकी छन्।

साथी संस्थाकी संस्थापक तथा अध्यक्ष (१९९८–२००१) रहिसकेकी परराष्ट्रमन्त्री राणा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) नाम गैरसरकारी संस्थाको पनि संस्थापक अध्यक्ष हुन्।

संकल्प नामक गैरसरकारी संस्थाकी संस्थापक र सल्लाहकार राणा सामाजिक र लैंगिक मुद्दामा काम गर्ने समानता नामक संस्थाकी कार्यकारी अध्यक्ष पनि हुन्। नेपाल मेन्टल हेल्थ पोलिसी गु्रपको अध्यक्षका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ। यसैगरी राणा विभिन्न शैक्षिक संस्थाहरूमा पनि आबद्ध छन्।

​​​​​​​उनी काठमाडौं कलेज अफ म्यानेजमेन्टको संस्थापक र अध्यक्ष तथा युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हुन्। नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट (नामी) को अध्यक्ष हुनुका साथै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) को प्रमोटर छिन्।

​​​​​​​परराष्ट्रमन्त्री राणा नौरिस नेपाल नामक संस्थाकी निर्देशक पनि हुन्। ‘नौरिस नेपाल’ राणाले सन् २०१२ मा यसको स्थापना गरेकी उक्त संस्थाले जैविक कृषिका क्षेत्रमा काम गर्छ। राणाले विज्ञ प्रशिक्षकका रूपमा नेपाल आर्मी कलेज र नेपाल प्रशासनिक स्टाफ कलेजमा प्रशिक्षणसमेत गराइसकेकी छन्। 

०४६ को परिवर्तनपछि राजनीतिमा प्रवेश गरेकी हुन्। राणाले २०५१ (सन् १९९४) मा कांग्रेसको क्रियाशील सदस्यता लिएकी हुन्।  राजनीतिमा लागेको १० वर्षपछि अर्थात्् २०६१ (सन् २००४) मा उनी पार्टीको महासमिति सदस्य भइन्। राणा ०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडिन् र विजयी भइन्। उनी दुवै संविधानसभामा समानुपातिक सभासद्् थिइन्। पहिलो संविधानसभामा राणा राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँट समिति सदस्यको भूमिकामा थिइन्।

​​​​​​​दोस्रो संविधानसभामा आरजुले संविधान मस्यौदा समिति र संसदीय सुनुवाइ समितिमा सदस्यका रूपमा कांग्रेसको प्रतिनिधित्व गरिन्। उनी पहिलो र दोस्रो संविधानसभामा प्राकृतिक स्रोत समितिमा सदस्य बनेकी थिइन्। परराष्ट्र सचिव लम्साल उपसचिवका रूपमा प्रवेश गरेकी थिइन्। पासपोर्ट विभागबाट परराष्ट्रको करिअर सुरु गरेकी उनी सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेकी थिइन्। त्यसबेला उनले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी लिएकी थिइन्।

​​​​​​​२०२० मा नेपाल फर्किएपछि भने लम्सालले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघ–संस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा काम गरिन्। लम्सालले विभिन्न राष्ट्रहरूका दुई पक्षीय तथा बहुपक्षीय बैठक, विभिन्न सम्मेलन र सम्झौताहरूमा पनि आफ्नो नेतृत्वदायी उपस्थिति जनाएकी छन्। करिब एक महिनाअघि मात्र भारतमा भइरहेको दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटको सम्मेलनमा पुगेकी लम्साल प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश सचिव एस जयशंकरसँग भेट गरेर फकेर्की थिइन्। 

मुलुकको परराष्ट्र नीति कहिले उत्तर र कहिले दक्षिण झुल्किने गरेको आरोप लागिरहेका बेला परराष्ट्र मन्त्रालयको राजनीतिक र प्रशासनिक दुवै नेतृत्वले कसरी सन्तुलित बनाउला भन्ने आमजिसासा छ। 

परराष्ट्रमन्त्री राणा भारत जाँदै  

परराष्ट्रमन्त्री राणा आगामी साता भारत भ्रमणमा जाने भएकी छिन्। नियमित स्वास्थ्य परीक्षणका लागि भारत जाने तयारीमा रहेकी राणाको यो भ्रमणलाई भारत सरकारले ‘औपचारिक’ बनाउने तयारी गरेको छ। 

डा. राणाको १५ चैत ०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो। नियमित स्वास्थ्य परीक्षणका लागि फेरि नयाँदिल्ली जानुपर्ने भएपछि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा व्यक्तिगत स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने तयारीमा थिइन्। यो कुराको जानकारी पाएपछि राणाका भारतीय समकक्षी भारतीय विदेशमन्त्री डा. एस जयशंकरले औपचारिक निमन्त्रणा पठाएका थिए । 

स्रोतका अनुसार, ‘निम्तो प्राप्त भएकाले उहाँको भ्रमण औपचारिक हुनेछ। मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नुहुनेछ। तर, स्वास्थ्य परीक्षणको सिलसिलामा जाने हुनुभएकाले उच्चस्तरीय भेटघाट भने धेरै हुने छैनन्।’ मन्त्रिपरिषद््को बिहीबारको बैठकले राणाको भारत भ्रमणलाई स्वीकृत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.