कविता प्रतियोगितामा अन्नपूर्णकर्मी शिरीष प्रथम
स्याङ्जा : पुष्पमान श्रेष्ठ र चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्जामा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम भएका छन्। सिन्धुपाल्चोक जिल्लावासी शिरीषले देश फर्किरहेको देश भन्ने शीर्षकमा कवितावाचन गरेका थिए।
यसैगरी झापाका राजन सुवेदी दीपक द्वितीय, बाँकेका चन्द्रावती अधिकारी तृतीय भए भने तनहुँका विनायक पन्त र स्याङ्जाका सम्झना थापाले सान्त्वना स्थान पाउन सफल भए।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५ सय ५५, द्वितीयलाई ११ हजार १ सय ११, तृतीयलाई ७ हजार ७ सय ७७ र सान्त्वना हुने दुई जनालाई जनही ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ।
प्रतियोगितामा ६ प्रदेश र ४८ जिल्लाबाट १ सय ९९ वटा कविता प्राप्त भएको र तीमध्ये २० कविता पहिलो चरणमा छनोट गरी प्रत्यक्ष वाचनका लागि बिहीबार बोलाइएको थियो।