गाउँमाथिबाट पहिरो जाँदा बस्ती जोखिममा
रुकुमपूर्व : गाउँमाथिबाट पहिरो जाँदा रुकुम पूर्वको एक बस्ती जोखिममा परेको छ। जिल्लाको सिस्ने गाउँपालिका-५ स्थित भिरकुना भन्ने ठाउँमा लेदो सहितको पहिरो जाँदा थापागाउँ पहिरोको उच्च जोखिममा परेको हो।
थापा गाउँ जोखिममा परेपछि सात घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवार कोही छिमेकीको घरमा र कोही आफ्नै दोस्रो घर तथा अन्य ठाउँमा सारिएको सिस्ने गाउँपालिका-५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतले बताए। बस्नेतका अनुसार यो ठाउँमा पहिले पनि पहिरो गएको थियो। ढुङ्गा बिनाको माटो भएकाले वर्षामा माटो बग्ने गरेको वडाध्यक्ष बस्नेतको भनाइ छ।
थापागाउँ माथिको भिरकुनाबाट निरन्तर पहिरो झरिरहेकाले गाउँ जोखिममा परेको छ। पानी परिरहेकाले जति बेला पनि पहिरो आउन सक्ने त्रास बस्तीमा छ।
पहिरोले बस्ती नै जोखिममा परेपछि सुरक्षाकर्मी र गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण समेत गरेको छ। पहिरोलाई रोकथाम गर्न सक्ने अवस्था तत्काल सम्भावना नरहेको सिस्ने गाउँपालिकाले जनाएको छ। अहिले तत्काल स्थानीयलाई सुरक्षित ठाउँमा सार्नु बाहेक अरु उपाय नरहेको बताइएको छ।