बाघ भैरव मन्दिरमा प्रतिष्ठापन गर्नका लागि मूर्ति हस्तान्तरण (फोटोफिचर)
ललितपुर : राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेको थियो। कीर्तिपुर अवस्थित बाघ भैरव मन्दिर एक महत्वपूर्ण ऐतिहासिक र धार्मिक स्थल हो।
प्रत्येक वर्षको भाद्र सिंह संक्रान्ति (भाद्र १) गते मन्दिर परिसरमा स्वर्ण भैरव शक्ति मूर्ति कीर्तिपुर गुंदे दापा खलः को आयोजनामा जात्राको दिन प्रदर्शनी गर्ने गरिन्छ। बाघ भैरवले विनाश र संरक्षणलाई प्रतिनिधित्व गर्छ। बाघ भैरवले सहरलाई दुष्ट आत्माहरू र विपत्तिबाट जोगाउने रक्षक देवताका रूपमा कीर्तिपुरबासीहरूले पूजा गर्ने गरिन्छ।
बाघ भैरव मन्दिरको मुलद्वार अगाडिको गुन्थ सत्तलमा ३२१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भइसकेको बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति मूर्तिकला जगतमा प्रख्यात व्यक्ति क्रोधकला शिरोमणि कालु कुमालेज्यूका छोरा यस ल्हामो ह्याण्डीक्राफ्टका संस्थापक स्व. वीरेन्द्रकुमार अवालेको स्मृतिमा कीर्तिपुरको बाघ भैरव मन्दिरमा प्रतिष्ठापन गर्नका लागि हस्तान्तरण गरिएको छ।
करिब १ वर्षको समय लगाएर यस ल्हामो ह्याण्डीक्राफ्टको १५–२० जना कालिगढको समूह मिलेर बनाइएको हो। यो मूर्तिको उचाइ ३ फिट रहेको छ। यो मूर्तिलाई कीर्तिपुर गुंदे दापा खलबाट करिब २५० जनाको समूहले सम्मानका साथ नेवारी परम्परागत भेषभूषा र सांस्कृतिक बाजा सहित मूर्ति लिन आउने क्रममा उक्त मूर्ति बनाउन सहयोग गर्नु हुने सम्पूर्ण कालिगढ तथा परिवारजनलाई सम्मान कार्यक्रम सम्पन्न गरी मूर्तिलाई खटमा राखी पाटनका विभिन्न स्थानमा बाजासहित परिक्रमा गरिएको थियो।