रासायनिक मलको विकल्पमा ‘ढैंचा’

रासायनिक मलको विकल्पमा ‘ढैंचा’

टीकापुर : कैलालीको जानकी गाउँपालिका–४ मुनुवाका किसान सबिता बडायक विगत १२ वर्षदेखि धान, गहुँ, तोरी र मसुरोको बिउ उत्पादन गर्दै आएकी छन्।

स्थानीय बिजवृद्धि कृषक सहकारी संस्थाकी सदस्य रहेकी उनले धान र गहुँको बिउ उत्पादनका लागि पर्याप्त रासायनिक मल प्रयोग गर्दै आएकी थिइन्। हरेक वर्ष रासायनिक मलको प्रयोगले बिग्रिँदै गएको उनको चार बिघा जमिनको माटोको गुणस्तर सुधार्न ढैंचा (हरियो मल) लगाउनुपर्छ भन्ने जानकारी पाएपछि उनले विगत तीन वर्षदेखि ढैंचा लगाउँदै आएकी छन्। 

‘सहकारीले आयोजना गरेको बिउ उत्पादन खेतीमा कृषि प्राविधिकले ढैंचाले माटो सुधार्ने जानकारी दिएपछि लगाउन सुरु गरेका हौं,’ सबिताले भनिन्, ‘धानको बिउ उत्पादनका लागि रासायनिक मलको विकल्पमा माटो सुधार्न, बिउका लागि चाहिने सबै पदार्थ पाइने हुनाले तीन वर्षदेखि ढैंचा लगाउँदै आएका छौं।’ 

सबिताको अनुभवमा ढैंचा लगाएपछि युरिया मलको प्रयोग कम हुँदै गएको छ। गहुँ काटिसकेपछि सिँचाइको सुविधा हुने जमिनमा ढैंचा लगाउन सकिन्छ। ‘प्रायः धान खेतीभन्दा अगाडि लगाइने ढैंचाले धानको उत्पादनमा बृद्धि गरेको छ,’ उनले भनिन्, ‘मैले त १० कठ्ठा जमिनमा चार वर्षदेखि तरकारी खेतीसमेत गर्दै आइरहेकी छु, त्यसमा पनि ढैंचाको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ।’

मुनुवाकै गोविन्द रावतले ढैंचा उम्रिएको खेतका गरामा ट्याक्टरले जोतेपछि धान रोपाइँ गरेका छन्। उनले रासायनिक मलको विकल्पमा दुई वर्षदेखि ढैंचा उमारेर मलका रूपमा प्रयोग गर्दै आएको बताए। 

रासायनिक मलको प्रयोग हरेक वर्ष बढाउँदै जानुपर्ने बाध्यता भएर माटो सुक्खा हुने, अम्लीयपन बढ्ने र उत्पादन लागतसमेत बढ्न थालेपछि उनले ढैंचा लगाउन सुरु गरेको बताए। बिजवृद्धि कृषक सहकारी संस्था लिमिटेडका कार्यालय प्रमुखसमेत रहेका रावत आफ्ना पुर्खाहरूले मलका रूपमा लगाउँदै आएको ढैंचा लोप नै भइसकेका बेला कृषि ज्ञान केन्द्र कैलालीले तालिम र बिउ उपलब्ध गराउन थालेपछि पुनः किसानहरू यसतर्फ आकर्षित भएको बताउँछन्। 

‘रासायनिक मल सहज पाइँदैन, पाए पनि महँगो पर्छ, उत्पादन लागत पनि बढ्ने भयो,’ रावतले भने, ‘गहुँ काटेर खाली रहेको जमिनमा सिँचाइको सुविधा छ भने बिउ छर्ने ३/४ पटक सिँचाइ गरेपछि ढैंचाले मलको काम गर्छ, माटो सुधार्छ, रोगकिराबाट समेत बचाउने हुनाले बिउको दाना पनि राम्रो उत्पादन भइरहेको हामीले पाएका छौं।’  

टीकापुरस्थित रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइले कृषकका लागि सञ्चालन गरेको तालिममा ढैंचाका फाइदाबारे जानकारी पाएपछि चार वर्षदेखि निरन्तर ढैंचा लगाउँदै आएका जानकी गाउँपालिका– ७ का किसान देवीकृष्ण चौधरीले मागे जति ढैंचाको बिउ उपलब्ध हुन नसकेको गुनासो गरे। ‘कृषि ज्ञान केन्द्र कैलालीमा हामीले निवेदन दिएका थियौं, उसले छनोट गरेर बिउ उपलब्ध गराएको हो,’ चौधरीले भने। उनले सिँचाइ सुविधा रहेको जमिनमा स्थानीय तहले ढैंचाको बिउ उपलब्ध गराएर माटो सुधारका लागि कार्यक्रम ल्याउनु पर्ने बताए। 

परम्परागत रूपमा गरिँदै आएको खेतीमा ढैंचाको खेती हुँदै आए पनि पछिल्ला केही वर्षदेखि रासायनिक मलको अधिक प्रयोग हुँदा ढैंचा हराउँदै गएको थियो। किसानले प्राविधिक ज्ञान पाएपछि भने अहिले यसको प्रयोग बढेको छ। 

रासायनिक मल र अत्यधिक विषादीको प्रयोगले माटोको उर्वरा शक्ति र गुणस्तर बिग्रिँदै गएको छ। कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले जिल्लाका अधिकांश स्थानीय तहमा माटो परीक्षण गर्दा बिग्रिँदै गएको पाइएकाले केन्द्रले ढैंचाको खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको बताए।  चौधरीका अनुसार उत्पादन बढाउन माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्रांगारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ। जथाभावी रासायनिक मलको प्रयोगले माटोको अवस्था बिग्रिँदै गएको हो। गोबर मलको प्रयोग बढाउने, कृषि चुन छर्ने, घरेलु उपचार गर्ने, ढैंचालगायतका हरियो मल प्रयोग गर्न कृषि ज्ञान केन्द्रले सुझाव दिँदै आएको चौधरीले बताए।

ढैंचा डाँठ र हाँगा सबै भाग नरम हुने बिरुवा हो। कृषि प्रसार अधिकृत चौधरीका अनुसार धान रोप्नुअघि जमिन हिल्याउँदा उम्रिएकै ढैंचामै जोतिने भएकाले केही दिनमै सजिलैसँग ढैंचा कुहिन्छ। ‘रासायनिक मलको विकल्पमा काम गर्ने भएकाले ढैंचालाई हरियो मल पनि भनिन्छ,’ उनले भने, ‘ढैंचा कोसेबाली वर्गमा पर्ने हुनाले कोसेबालीको जरामा जस्तै यसमा पनि वायुमण्डलको नाइट्रोजन सोस्ने स–साना गिर्खा हुन्छन्, जसले धानलगायतका बालीका लागि आवश्यक खाद्यतत्त्व सहजै उपलब्ध हुने हुनाले उत्पादनसमेत वृद्धि हुन्छ।’ किसानहरूले ढैंचाको बिउ वैशाख पहिलो सातादेखि जेठको अन्तिम सातासम्म छर्ने गरेको उनले बताए। 

पछिल्लो समयमा किसानहरूले आधुनिक यन्त्रको प्रयोगबाट कृषि खेती गर्दै आएपछि वस्तुभाउ पालनमा समेत कमी हुँदै आएको छ। गोबर मलको अभाव भएकाले पनि ढैंचालगायतका हरियो मल उत्पादन गर्नु परेको किसानहरू बताउँछन्। ढैंचाले माटो खुकुलो र मलिलो गराउने हुनाले दिगो कृषि उत्पादनका लागि प्रभावकारी उपाय भएको सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरमा कार्यरत कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय बताउँछन्। ‘परम्परागत रूपमा पुर्खाहरूले लगाउँदै आएको स्थानीय ढैंचाको प्रयोगमा किसानको आकर्षण बढ्न थालेको पाइन्छ,’ उपप्राध्यापक उपाध्यायले भने, ‘ढैंचाको बोटले हावामा नाइट्रोजन खिचेर त्यसैबाट जरामा पठाउने गर्छ, माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत यसले मद्दत पुर्‍याउने हुनाले यो निकै प्रभावकारी छ।’ 

कृषि प्राविधिकका अनुसार माटोको पीएच ६.५ भन्दा कम भएका अम्लीय, ६.५ देखि ७.५ सम्म भएका मध्यम र ७.५ भन्दामाथि भएमा क्षारीय हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.