महान् नेता, महान् विचार

पुस्तक

महान् नेता, महान् विचार

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ पढ्दा निकै आनन्द लाग्छ। एक प्रकारको ऊर्जा प्राप्त हुन्छ।

राजनीति र राजनीतिज्ञलाई आधार मानेर बनाइएको विश्वप्रसिद्ध भनाइ छ– ‘एक राम्रो नेता बन्न तेज दिमाग हुनुपर्छ। एक महान् नेता हुन जनताको मन जित्नुपर्छ र एक असाधारण नेता बन्न तमाम आत्माहरूको सपना पूरा गर्न सक्नुपर्छ।’ वास्तवमा हो पनि। कालजयी जननेता हुन त्यति सजिलो कहाँ छ र ! असल र जनताको नेता हुन निकै कठिन हुन्छ।

राजनीति आधुनिक सभ्यता, संस्कार र व्यवस्थाको अनुपम जननी हो। यसैबाट समाज सञ्चालन हुँदै आएको छ। अहिले विश्वका जति पनि शक्तिशाली र समृद्ध राष्ट्र छन्। तिनको सामाजिक–आर्थिक रूपान्तरणको एकमात्र सूत्रधार राजनीति नै हो। समाजलाई व्यवस्थित तरिकाबाट नियमन र सञ्चालन गर्न राजनीतिक दर्शनले सिकाएको हुन्छ। आजको सचेत विश्वलाई यो अवस्थामा ल्याउन राजनीतिको भूमिका अतुलनीय छ। राजनीतिले नै हो समाजको प्रत्येक क्षेत्रलाई कुनै न कुनै रूपले प्रभाव पारिरहेको हुन्छ। यसलाई अलग्याएर कुनै पनि क्षेत्रको रूपान्तरण र विकास असम्भव जस्तै देखिन्छ। जसकारण राजनीति मानव समाजको उत्थानका निम्ति अपरिहार्य छ। यसको विकल्प छैन।

राजनीतिको सचेत आकाशमा उडान भर्ने सबै राजनीतिज्ञ अमर हुँदैनन्। सफल हुँदैनन्, प्रेरणादायी हुँदैनन्। यसै पनि राजनीतिलाई फोहोरी खेल पनि भन्ने गरिन्छ। यसभित्र प्रवेश गरेर स्वच्छ तरिकाले राज गर्न त्यति सजिलो कहाँ छ र ! हाम्रो जस्तो देशमा जानी नजानी धेरै मानिस राजनीतिमा लागेका हुन्छन्। कति रहरले, कति बुझेर, कति स्वार्थका निम्ति यस क्षेत्रमा सक्रिय देखिन्छन्। वास्तवमा राजनीतिको रस यस्तै नशेदार छ। यसभित्र रमेका राजनीतिज्ञ थोरै सफल छन्। धेरै बदनाम र गुमनाम पनि छन्। यस्तो सम्भावना र जटिलताले भरिएको क्षेत्रमा चर्चा पाउनु, प्रभाव जमाउनु, जनताको विश्वास जित्नु र सफल हुनु निकै चुनौतिपूर्ण हुन्छ। नेपाली राजनीतिक वृत्त पनि यो दृश्यबाट अछुतो छैन।

सर्सर्ती हेर्दा नेपाली राजनीतिको आधुनिक इतिहास त्यति लामो छैन। २००७ सालपछिमात्र नेपाल राजनीतिक रूपमा स्थापित भएको मुलुक हो। त्यसपश्चात् मात्रै खुला राजनीति र राजनीतिक गतिविधि देशभित्र देखिन थालेका हुन्। यस अवधिमा मुलुकभित्र धेरै राजनीतिक परिवर्तन भयो र थोरै सम्झन लायक नेताको उदय भयो। तिनै सीमित र असाधारण राजनीतिका पात्रमध्ये एक राजनीतिज्ञ हुन्– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली।

ओली देशको ठुलो पार्टीको प्रमुख नेतामा सीमित नभइ एक चिन्तक, एक दार्शनिक, एक इतिहासविद् र एक प्राज्ञ व्यक्तित्व रूपमा समेत देखिन्छन्। उनले दिएका तर्क पढ्दा उनमा गहिरो अध्ययनशीलताको भाव देखा पर्छ।

ओली नेपाली राजनीतिक वृत्तमा विवाद, विजय र कडा आलोचक नेताका रूपमा चिनिन्छन्। समय र परिस्थितिअनुसार निर्णय लिन सक्ने कुृशल राजनीतिज्ञसमेत मानिन्छन्। अन्य समकालीन नेताका तुलनामा प्रायः चर्चाको केन्द्रमा रहने ओली एक विद्वान् नेता पनि हुन् भन्ने कुरा बेला बेला व्यक्त उनका सम्बोधन र प्रकाशित लेखहरूले पुष्टि गर्छन्।

चर्चित उनै राजनीतिज्ञ ओलीले विभिन्न समयमा, विभिन्न मञ्चहरूमा गरेका प्रतिनिधिमूलक प्राज्ञिक सम्बोधनहरूको संग्रह हो– केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन। यसको सम्पादन गरेका छन्, पञ्चायतकालमा राजतन्त्रविरोधी कविता लेखेबापत रातजन्त्र र राज्यविरोधी कसुरमा मुद्दा खेपेका साहित्यकार एवं अन्वेषक प्राज्ञ शशी लुमुम्बूले। प्रकाशक रहेको छ— रत्न पुस्तक भण्डार। सम्पादकले ओलीद्वारा २०७२ सालदेखि २०७९ सम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–समारोहमा गरेका महत्वपूर्ण ३७ ओटा प्राज्ञिक सम्बोधन समावेश गरेका छन्।

प्रत्येक सम्बोधन कार्यक्रमको प्रकृतिअनुसारका छन्। एउटा सम्बोधन चीनको रेनमिन विश्वविद्यालयले आयोजना गरेको समारोहमा सम्बोधन छ। उक्त सम्बोधनमा ओलीले चीनको प्राज्ञिक इतिहास तथा वन वेल्ट, वन रोड इनिसिएटिभको चर्चा छ। त्यस्तै चीनकै छेन्दु र सिचुआन प्रान्तबाट त्यहाँको सांस्कृतिक, सभ्यता र चिनियाँ दार्शनिक कन्फुसियसको उपदेशको समेत वर्णन र तारिफ गरेका छ्न्। यसका अतिरिक्त चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई दिएको छात्रवृत्ति र नेपाल–चीन सम्बन्धको पनि खुलेर प्रशंसा गरेका छन्।

देशभित्रको सन्दर्भमा ओलीले काठमाडौं, पोखरा, मध्यपश्चिम विश्वविद्यालय, नेपाल प्रज्ञा–प्रतिष्ठान, मदन भण्डारी कला–साहित्य प्रतिष्ठान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आदिद्वारा आयोजित विभिन्न सभा–समारोहमा गरेका सम्बोधन छन्। प्रत्येक सम्बोधनको आआफ्नै विशेषता छन् तर सबैमा समानता भने पाइन्छ। प्रायः सम्बोधन केलाएर पढ्दा एक सफल नेताभित्र हुनुपर्ने बहुआयामिक गुण ओलीका मन्तव्यमा स्पष्टसँग देखिन्छ।

ओलीका प्राज्ञिक सम्बोधन पढिरहँदा उनका विभिन्न रूप देखिन्छन्। उनी देशको ठुलो पार्टीको प्रमुख नेतामा सीमित नभइ एक चिन्तक, एक दार्शनिक, एक इतिहासविद् र एक प्राज्ञ व्यक्तित्व रूपमा समेत देखिन्छन्। उनले दिएका तर्क पढ्दा उनमा गहिरो अध्ययनशीलताको भाव देखा पर्छ। उनको कुनै एक सम्बोधनको भाव बुझ्न एक पाठकमा विभिन्न दर्शन, साहित्य, इतिहास, विश्व राजनीति एवं कूटनीतिको अध्ययन गर्नुपर्ने हुन्छ। त्यसपश्चात मात्र उनले भनेका कुराहरू बुझ्न सकिन्छ। उनको सम्बोधनको अर्काे साझा विशेषता भनेको राष्ट्र र राष्ट्रियताप्रतिको प्रेम, दर्शनको ज्ञान, समाज र विकाससँगको लगाव हो।

पुस्तकभित्रको इन्द्रेणी जस्ता हामी (९७) शीर्षकको सम्बोधनमा ओलीले भनेका छन्, ‘आजको समय भनेको आजका हाम्रा आवश्यकताहरूको परिपूर्ति गर्नु हो। आज हामीले हिँड्नुपर्ने बाटोका निम्ति। भोलि हामीले पुग्नुपर्ने गन्तव्यका निम्ति। भोलिको गन्तव्यमा पुग्नका निम्ति आज हामीले खेल्नुपर्ने भूमिकाका निम्ति अथवा हाम्रो समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका निम्ति। यो आकांक्षा त सधैं थियोे। विगतमा पनि थियो।’ माथि व्यक्त सम्बोधनले उनको राष्ट्रप्रतिको माया, विकास, सपना, दूरदर्शिता र दर्शनको ज्ञान उजागर गर्छ। उनका सम्बोधनले के पनि जनाउँछन् भने उनी कुनै पनि कार्यक्रममा गएर त्यसै जथाभावी आमनेताले जस्तो बोल्ने नेता होइनन्।

राजनीतिको सचेत आकाशमा उडान भर्ने सबै राजनीतिज्ञ अमर हुँदैनन्। सफल हुँदैनन्, प्रेरणादायी हुँदैनन्। यसै पनि राजनीतिलाई फोहोरी खेल पनि भन्ने गरिन्छ।

ओली कार्यक्रमको विषयअनुसार अध्ययन गर्ने, तयारी गर्ने र सम्बोधन गर्ने नेताका रूपमा देखिन्छन्। सम्बोधनपूर्व उनी कार्यक्रमको स्वरूप र उद्देश्य हेर्ने, पृष्ठभूमि अध्ययन गर्ने, त्यसपछि मात्रै प्रस्तुति दिने उनको राम्रो बानीका रूपमा लिन सकिन्छ।

भानु जयन्ती, देवकोटा जयन्ती, चीन तथा दक्षिण एसिया साहित्य सम्मेलनमा उनले बोलेका शब्द चयनले देखाउँछ यस कुरालाई पुष्टि गर्छन्। ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ पढ्दा निकै आनन्द लाग्छ। एक प्रकारको ऊर्जा प्राप्त हुन्छ। नेपालको सभ्यता, संस्कार, संस्कृति र ज्ञानपरम्परा बुझ्न यो ग्रन्थ निकै उपयोगी देखिन्छ। पुस्तकमा २४७ पृष्ठ छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.