प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको हो। प्रधानमन्त्री ओलीले देउवासँग राजनीतिक विमर्श भएको उल्लेख गरेका छन्।
'आज शनिबार! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए,' प्रधानमन्त्री ओलीले भनेका छन्।
उनीहरूबीच राजनीतिक नियुक्तिलगायतका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको कार्यान्वयनका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। उक्त विधेयक हालै प्रतिनिधिसभाबाट पारित भएको थियो। हालः उक्त विधेयक राष्ट्रिय सभामा रहेको छ।