चुनवाङ्ग बैठकको भविष्यवाणी मिल्यो, नेपालमा छिट्टै ठूलो आन्दोलन आउनेवाला छ : दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा छिट्टै ठूलो आन्दोलन आउन लागेको दाबी गरेका छन्। रुकुम पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आन्दोलनका निम्ति पार्टी पंक्ति एकढिक्का हुनुपर्ने बताए।
'नेपालमा छिट्टै एउटा ठूलो आन्दोलन आउनेवाला छ। त्यो आन्दोलनको नेतृत्व वामपन्थी प्रगतिशीलले गर्ने हुन् कि दक्षिणपन्थी अराजकतावादीले गर्ने हुन्? यो सबाल पेचिलो भएको छ। यो कुरा हामीले विचार गर्नुपर्ने छ,' अध्यक्ष दाहालले भने।
उनले विसं २०६२ सालमा चुनवाङ्ग बैठकमा भनेको कुरा अहिले आएर सत्य भएको दाबी गरे। उनले गणतन्त्र जनताका लागि भन्दा पनि बुर्जुवाका लागि आएको निष्कर्ष निकाले।
'मैले चुनवाङ्ग बैठकमा भनेको थिएँ- गणतन्त्र नेपालमा आयो आयो। तर, जनताको हुन्छ कि बुर्जुवाको हुन्छ? गम्भीर प्रश्न उब्जिएको छ। त्यो बैठकमा मैले जे भविष्यवाणी गरेको थिएँ, अहिले त्यसकै लागि लडाइँ गर्ने बेला आएको छ,' उनले भने, 'पार्टीले एकपटक फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ। जसका लागि पार्टी एकताबद्ध गर्नुपर्ने छ। यो चुनौती हाम्रोसामु छ।'
उनले संसदमा विश्वासको मत नपाएपछि आफू कमान्डर भएर निस्किएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाचार भएर सत्तामा गएको टिप्पणीसमेत गरे। उनले बंगलादेशको उदाहरण दिँदै संख्याभन्दा ठूलो जनमत रहेको बताए।
'संख्या सबै कुरा होइन। जनमत ठूलो कुरा हो। जनमत अग्रगमनको पक्षमा हुन्छ। बंगलादेशलगायत दक्षिण एसियामा जसरी क्रान्ति देखियो। यदि सरकारले संख्याको बलमा जे पनि गर्न खोज्ने हो भने लाखौं जनता सडकमा उत्रिनेछन्,' उनले भने। उनले अहिले जनतामा पनि सकारात्मक 'भाइब' देखिएको भन्दै स्वतस्फुर्त आन्दोलनमा होमिने दाबी गरे।
उनले केही प्रतिक्रियावादीले पार्टी फुटाउन खोजेको दाबी पनि गरे। 'प्रतिक्रियावादीहरूले पार्टी फुटाउने खोजेकै हुन्। तर, अहिले पार्टी फुटको विषय खारेज गरिएको छ। प्रभाकरले पार्टी फुटाउँछ भन्ने कुरामा स्पष्ट भएको छ,' उनले भने।