कर्णालीका ३६ प्रतिशत बालबालिका कम उचाइका

कर्णालीका ३६ प्रतिशत बालबालिका कम उचाइका
सुन्नुहोस्

सुर्खेत : पोषणयुक्त खानाको अभावले कर्णालीका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। कुपोषणकै कारण बालबालिका कम उचाइका, ख्याउटेपना, कमतौल र रक्तअल्पता लगायतका समस्याले जेलिएका छन्। पाँच वर्षमुनिका बालबालिकामा यो समस्या धेरै छ।

गरिबी, सन्तुलित खानाको कमी र पोषिलो खानाको अभावमा कर्णालीका बालबालिका कुपोषणको जालोमा जेलिएका हुन्। प्रदेश सरकारको तथ्यांकअनुसार कुपोषणका कारण हाल कर्णालीका ३६ प्रतिशत बालबालिका कम उचाइका छन्। अर्थात् उमेर अनुसार उनीहरूको उचाइ छैन। कुपोषणकै कारण ती बालबालिकाको उमेर अनुसार शरीरको उचाइ वृद्धि हुन सकेको छैन। पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनले यस्तो देखाएको हो। यस्तै यहाँका ४ प्रतिशत बालबालिका ख्याउटे छन्। अर्थात् उनीहरूको उमेरअनुसार शरीरको विकास भएको छैन। 

तथ्यांकअनुसार १८ प्रतिशत बालबालिका कम तौलका छन्। अर्थात उमेरअनुसार उनीहरूको शरीरको तौल वृद्धि हुन सकेको छैन। कुपोषणकै कारण ४० प्रतिशत बालबालिकामा रक्त अल्पताको समस्या देखिएको प्रदेश सरकारको तथ्यांकले देखाएका छ। 

देशभर जम्मा २५ प्रतिशत बालबालिकामा कम उचाइको समस्या रहेकोमा कर्णालीमा ३६ प्रतिशतमा कम उचाइको समस्या देखिएको हो। कुपोषणले कर्णालीका बालबालिकाको शारीरिक तथा मानसिक विकासमा अवरोध भइरहेको स्वास्थ्यकर्मी बताउँछन्। कर्णालीका कालीकोट, जुम्ला र मुगुमा यो समस्या धेरै छ। कुपोषणका कारण बालबालिकाको मृत्युसमेत हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।

त्यसैगरी कर्णाली प्रदेश आर्थिक सर्वेक्षण २०८० अनुसार प्रदेशका ८५ दशमलव ५ प्रतिशत बालबालिका खोपको पहुँचमा छन्। तर, बाल मृत्युदर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७६÷०७७ मा बाल मृत्युदर जम्मा ३४ प्रतिशत रहेको कर्णालीमा आर्थिक वर्ष २०७९/०८० सम्म आइपुग्दा बढेर ६८ प्रतिशत पुगेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक सार्वजनिक गर्दै बाल मृत्युदर बढ्दो क्रममा रहेकाले पनि कुपोषणलाई सामान्य रूपमा लिन नहुने जनाएको छ। मन्त्रालयका अधिकृत रमेश खड्का भन्छन्,‘८५ प्रतिशत बालबालिका खोपको पहुँचमा छन्, तर बाल मृत्युदर बढ्दो छ। कतै कुपोषणका कारण त होइन ?, बालबालिकालाई कुपोषणबाट मुक्त गर्नैपर्छ।’ 

कुपोषण घटाउन अभियान थालियो

विकास साँझेदारले कुपोषणमुक्त कर्णाली बनाउने अभियान थालेका छन्। वल्र्डभिजन इन्टरनेशनल नेपालको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाले कुपोषणमुक्त कर्णाली बनाउन ‘इनफ अभियान’ थालेका छन्। वल्र्डभिजन नेपालका क्याम्पिएन म्यानेजर श्याम अधिकारीले कुपोषण घटाउन कर्णालीमा पर्याप्त सम्भावना रहेको सन्देश दिन यो अभियान सुरु गरिएको बताए। 

अभियान अन्तर्गत बालबालिकालाई पोषणयुक्त खानामा पहुँच स्थापित गर्ने, बालबालिका लक्षित बजेट बढाउने, पोषिलो खाना उपभोगका लागि प्रोत्साहन गर्ने, पोषणमैत्री स्थानीय शासनमा सहकार्य गर्ने र नीति निर्माणमा बालबालिकाको सहभागिता बढाउने लगायतका कुपोषण घटाउने कार्यमा सहजिकरण गरिनेछ। अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री यामलाल कँडेलले कुपोषण घटाउन प्रदेश सरकारले आवश्यक नीति र कार्यक्रम सञ्चालन गर्ने बताए। 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णालीमा अर्गानिक कृषि उत्पादन वृद्धि गरेर पोषणमा सुधार गरिने बताए। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कुपोषण अन्त्यका लागि प्रदेशमै पाइने रैथाने बालिको प्रबद्र्धन गरिने बताए। 

कर्णालीका रैथाने बाली (मार्सी, फापर, चिनो, कागुनो, जो, उवा, सिमी) मा पोषणतत्व धेरै रहेको भन्दै यसकै उपभोगमार्फत कुपोषण घटाउन सरकारले पहल गर्ने उनको भनाइ छ। कर्णालीमा कुपोषण घटाउन विगतमा विभिन्न प्रयास भए पनि न्यूनीकरण हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.