अन्यायमा पिल्सिएका भरतहरू

अन्यायमा पिल्सिएका भरतहरू

जीवनका दुःख र पीडा सुनाइसक्नु छैन अनि छैन सुनिसक्नु पनि। यस्तो जिन्दगीको व्यथा भोग्नेले कसरी भोगिरहेको होला ? उनै भरत मुसहर जसले आमभुइँमान्छेको प्रतिनिधित्व गरेका छन् मूलतः मधेसको। सम्पत्तिको नाममा एउटा छाप्रो अनि ओइल्यानी दुई कट्ठा घडेरी। यसका बाबजुद पीडामा पीडा थप्ने अर्को पाटो बनिदियो, दलित। जे जति थियो, त्यो नि भूमाफियाले खाइदियो, भित्रभित्रै लालपुर्जा बनाएर।

गाउँलेहरू न्याय मागिदिँदै अढाई दशकदेखि भरतका आवाज बोकेर सडकदेखि सिंहदरबारसम्म भौतारिरहेका छन्। तर न्याय, निसाफ भने ‘ललिपप’ जस्तै भएको छ। प्रचण्ड सरकार (उर्फ् सर्वहारा सरकार)ले सुनेर पनि न्याय दिलाएन। बरु माफियाहरूले उठीबास गराइदिन्छु भन्दै तारन्तार धम्कीका भाषा बोलिरहेछन्। केही सीप नलागेपछि उनी अहिले भगवान् भरोसामा बाँचिरहेका छन्। भगवान् पनि अरूकै आशामा छन् कि ? बरोबिचरालाई के थाहा ! यस्तो अवस्था उनीसँगै उनका गाउँका १ सय ८७ परिवारको छ।

भरतको ठेगाना महोत्तरीको भंगहा नगरपालिका—५ थारूटोल बनरा हो। जहाँ उनको पाँच पुस्ताको बसोबास छ। तर, अढाई दशकअघि सुकुम्बासी आयोगबाटै बिचौलियाहरूले घरखेत खाइदियो। उनी बसेको जग्गा अरूको नाममा लालपुर्जा बन्यो। उनी हेरेको हेरैछ। कठै लोकतन्त्र, जहाँ उनलाई न्याय पाउन मुस्किल छ।

लालपुर्जा बोकेर गैरसुकुम्बासी बस्ती पसेपछि मात्रै थारूटोल बनरावासीले आफ्नो जग्गा हडपिएको चाल पाए। भरत भन्छन्, ‘यो मेरो समस्या मात्रै होइन, १८७ परिवारको पीडा हो।’ ठूलै माफियाको खेलाबेला छ, यस पछाडि। जो सबै दलित, गरिब र विपन्न छन्। जसको प्रतिनिधि पात्र भरत मुसहर हुन्। रोग, भोक र शोकबाट ग्रसित छन् भरत। उनले भोग्ने अन्याय, अत्याचार, शोषण, दमनको पीडा त कति हो कति !

धन्न बाँचेका छन् उनी। उनले पोख्दै र हामीले लेख्दै जाने हो भने आँसुका कथाहरूले समुद्र भरिएला ! समुदायमा कथित तल्लो जाति भनेर न होटेलमा गिलासमा चिया पिउन पाउँछन् न त भोजभतेरमा अरूसँग बसेर खान। जो दस किलो धानमा दिनभर काम गर्छन्। थारूटोल बनरा गाउँको सडकभन्दा पूर्वतिर खरको एउटा छाप्रो छ। जहाँ उनको परिवारको बास छ। भोक मेटाउने भान्छा अनि रात काट्ने छाना पनि अन्यायमा छ। उसलाई आफ्नो भन्ने मालिककै हालबेहाल छ।

त्यसैले, भरत वर्षामा छानो चुहिएर हैरानी खेप्छन्। अनि प्रचण्ड घाम लाग्दा आगलागीको डरले त्रसित बन्छन्। सर्प र बिच्छीले साउने झरीमा त्रसाउँछ उनलाई। पुस—माघको शीतलहरको व्यथा सहिसक्नु हुँदैन। कसरी बाँचे होला, यत्रो दुःख र अभाव खेपेर भरतको पाँच जना परिवार वर्षौंसम्म ? भोग्नेलाई थाहा होला गरिबी जिन्दगीको लाचारी। सरकारले चलाउने सुरक्षित आवासको योजना भरतजस्ताको दैलोमा पुगेको छैन। उनको छोराछोरी स्कुलको मुख देखे पनि पढाउने शिक्षाको राजनीति दाउपेचले बिजोग छ।

भरतकोे मौलिक अधिकार संविधानमै हराएको छ। बरु भूमाफियाले दिँदै आएको उठीबासको धम्कीले त्रस्त छन् उनका गाउँले। बाह्रखरी नजानेका भरतलाई कालो अक्षर भैंसी बराबर लाग्छ। जताततै अन्धकारै अन्धकार देख्छन् उनी। त्यसैले भारुटोल बनराको १ हजार २ सय जनाको बसोबास रहेको पूरै सुकुम्बासी गाउँ नै भूमाफियाको कब्जामा छ। पुस्तौनी गरिबको जञ्जिरमा भरत मुसहर छन्। दुःख, पीडा र अभाव एकातिर छ तर अर्कोतिर ४१ टेकेका उनमा खुसीको वहार छ। यसको मूल कारण के भने मुस्किलले मुसहरको सरदर आयु ३५ छ। अझ अर्को रहर छ उनको, आफू बसेको घडेरीको लालपुर्जा देख्ने।

भरत व्यथा सुनाउँछन्, ‘जमिन त छ तर लालपुर्जा छैन। गरिबको कथा कसैले सुन्ने ? गाउँका मान्छेहरू सरकारलाई भेट्न काठमाडौं गए प्रचण्ड सरकार भेट्न। मेरो काम भएर जान सकिनँ। २०५४ सालको सुकुम्बासी आयोगबाट बाहिरका मान्छेले भित्रभित्र आफ्नो नाममा हाम्रो जग्गा पारेका थिए। त्यो फिर्ता हुनुपर्छ।’ ‘पुस्तौंदेखिको बसोबास हो हाम्रो यहाँ तर सकुम्बासीका रूपमा’, कति अन्याय खेप्नु ? भन्दै उनी सुनाउँछन्, ‘लालपुर्जा हडप्नेहरू आउँछन् र यहाँबाट उठेर भाग भन्छन्। अब कहाँ जाने ?’ भरत मुसहर जस्ताको एक टुक्रा पुस्तौनी घडेरी पनि सुकुम्बासी आयोगबाटै अपचलन भयो। भुइँमान्छेको कथाव्यथा सुन्ने कोही छैन। बरु भूमाफियाहरूको साथ दिने धेरै छ।

अढाई दशकदेखि भरत जस्ता सकुम्बासी लालपुर्जा माग्दै आन्दोलित छन्। न त स्थानीय सरकारले सुनेको छ, न त प्रदेश सरकारले। संघीय सरकारले छानबिन समिति गठन गर्ने भनेको पनि कुरामै सीमित छ। लालपुर्जा पाउनेहरूलाई बस्तीवासीले चिन्दैन। उनीहरू सबै बाहिरका हुन्। कसरी बाहिरका व्यक्तिको नाममा लालपुर्जा बन्यो ? प्रश्न पेचिलो छ। बस्तीमा हालै पक्की सडक बनेको छ। बिजुलीको सुविधा छ। स्कुल छ। तर, वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व भने सुकुम्बासी आयोग सम्बद्ध ठाटाबाठासहितको नाममा छ।

दुनियाँमा आफ्नो केही छैन जस्तो भान हुन्छ भरतलाई। उनको पीडामा मलहमपट्टी गरिदिने न प्रशासन छ, न बोलिदिने सदन छ। न त समस्या समाधान गरिदिने सरकार नै। ‘कमाउँछौं, खान्छौं। त्योबाहेक अरू केही छैन। गरिबको के नै छ हुन्छ र ? ’ भरत पीडा सुनाउँछन्, ‘अहिले त मन्दी लाग्यो। महँगी बढ्यो। काम पनि पाउन मुस्किल छ। परिवार पाल्न पनि धौ—धौ भयो। त्यसमाथि बासको चिन्ताले मनै रुवाउँछ।’ धेरै पटक छानो फेर्ने प्रयास भरतले गरे। तर, घर भत्काइदिने धम्कीले पुरानो छाप्रोलाई पनि उनले मर्मत गर्न पाइला अघि बढाउन हिम्मत गरेनन्।

भरत भन्छन्, ‘नेताहरू भोटको बेलामात्रै मुख देखाउँछ। हाम्रो समस्यामा रतिभर ध्यान छैन।’ भरतसँगै थारूटोल बनराका १८७ परिवारले बसोबास गरेको जग्गा गैरसुकुम्बासीले लालपुर्जा बनाएर हडपेको वर्षौं भयो। अढाई दशकदेखिको माफियाविरुद्धको लडाइँ तुहिइरहेकै छ। प्रधानमन्त्रीलाई सुनाए पनि समस्या समाधान भएन। किन समस्या समाधान भएन ? प्रश्न गर्दा अधिकारीहरू जवाफ दिन्छ, ‘समस्या धेरै ठूलो हो।’ यसरी सधैं पन्छिएर भुइँमान्छेको उद्धार कसरी होला सरकार ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.