काँक्राको बिउबाट समृद्धि बन्दै सल्यानका किसान, एक वर्षमा २ करोड आम्दानी
यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बिउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।
बेनी : पर्वतको जलजला गाउँपालिका–७ सल्यानका किसानले काँक्रोको बिउ बिक्री गरेर यसपाली दुई करोड रुपैयाँ आम्दानी गरेका छन् । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो । व्यवसायीक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बिउ उत्पादन गरेका हुन् ।
उनीहरूले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बिउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।
राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बिउ उत्पादन राम्रो भएको किसान बलराम टेकनारायण आचार्यले भने ।
गत वर्षभन्दा यसवर्ष उत्पादित बिउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको बिउ उत्पादन गर्दै आएका छन् । ‘गतवर्ष प्रति किलो पाँच हजारदेखि छ हजार रुपैयाँमा बिक्री भएको थियो,’ उनले भने ‘यसपटक मूल्य बढेर १० हजारदेखि दश हजार पाँच सयसम्ममा बिक्री भयो ।’
व्यवसायीहरूले गाउँमै आएर बिउ खरिद गर्ने गरेको उनको भनाइ छ । काँक्रोको बीउ बिक्री गरेर यसवर्ष थोरैमा तीन लाखदेखि धेरै आम्दानी गर्नेले दश लाखसम्म आम्दानी गरे । राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बिउ उत्पादन राम्रो भएको किसान बलराम टेकनारायण आचार्यले भने ।
यहाँ उत्पादन भएको काँक्रोको बिउ सङ्कलन गरेर एक हजार किलो काठमाडौँंस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको हो । पौडेलका साथै वडाध्यक्ष टुङ्गनाथ आचार्य, गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बीउ सङ्कलन गरेर बिक्रीका लागि काठमाडौँ, पोखरा र बेनी पठाउने गर्छन् ।
ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ ।
स्थानीय नवराज शर्मा यसवर्ष गाउँभरिमा सबैभन्दा धेरै ९७ किलो काँक्रोको बीउ उत्पादन गरेर नौ लाख ७० हजार आम्दानी गर्न सफल भए । उत्पादन भएको काँक्रोको बिउले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बिउ उत्पादन गरेर गाउँमा दुईदेखि तीन करोड रुपैयाँसम्म भित्र्याउने गरेका छन् ।
पछिल्ला केही वर्षयता काँक्रो र गोलभेडाको बिउले राम्रो मूल्य पाउन थालेपछि विदेश पुगेका युवासमेत गाउँ फर्किएर कृषि खेतीमा लागेको किसान बलराम आचार्यले बताए । तरकारी र बीउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् ।
यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्दछ । ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ ।
बिउबाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ । यहाँका स्थानीयले धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेसाका रुपमा अपनाएका छन् ।