सञ्जालमा सजगता

सञ्जालमा सजगता
सांकेतिक तस्बिर

रेडियमको आविष्कारक म्याडम क्युरीले पति पियरे क्युरी मारिएको समाचार साँझ घर पुगेपछि थाहा पाएकी थिइन्। जबकि पियरे बितेको थुप्रै घण्टा भइसकेको थियो। श्री ३ जंगबहादुरको पत्थरघट्टामा भएको निधनको खबर काठमाडौं पुग्न धेरै दिन लागेको थियो। त्यस कालखण्डका प्रतिनिधिमूलक सन्दर्भ हुन् यी। देशको यो कुनाबाट त्यो कुनामा पत्र पुग्न हप्तौं लाग्थ्यो त्यतिबेला। चिठी, घर छोडेर गएकाहरूसँग सम्पर्क स्थापित गर्ने एक मात्र साधन थियो।

तत्कालीन मनुष्यलाई न टेलिभिजन हेर्ने सौभाग्य थियो न कम्प्युटर चलाउने ! टाढा बसेका आफन्तसँग सचित्र कुरा गर्नु सपना बराबर थियो। यसबीच विज्ञान र प्रविधिले आश्चर्यजनक फड्को मारेको छ। जसकारण आमूल परिवर्तन आएका छन्। टेलिफोन, टेलिभिजन, इन्टरनेट आदिको आविष्कारले सञ्चार जगत्मा क्रान्तिकारी मानकहरू खडा भएका छन्।

इन्टरनेटको आविष्कार एक त्यस्तो उपलब्धि बन्न पुग्यो, जसले सम्पूर्ण भूगोललाई एक सूत्रमा बाँधिदियो। इमेल, फेसबुक, युट्यब, टिटरजस्ता प्लेटफर्महरूले मानव जातिको अगाडि फराकिलो क्षितिज उघारिदिए। सामाजिक सञ्जालको खोज तथा प्रयोगले सिंगो ब्रह्माण्ड मोबाइलभित्र अटाउने भएको छ।

आधुनिक मनुष्य विगतको तुलनामा यति धेरै सुविधासम्पन्न भएको छ कि ऊ ब्रह्माण्डको जुनसुकै कुनामा घटेका घटना सेकेन्डभरमा थाहा पाउन सक्छ। प्रविधि विकासकै कारण अनलाइन कारोबार गर्न सक्छौं। घर बसी–बसी जमिनमा गुड्नेदेखि हावामा उड्ने वस्तुहरूमा दक्खल पुर्‍याउने हैसियत बनाएका छौं। आजको मानिस फेसबुक, टिटर, ह्वाट्स्एप, इन्स्टाग्राम आदि एपमार्फत आफ्ना भनाई क्षणभरमै सार्वजनिक गर्न र विश्वभर पुर्‍याउन सक्छ। 

तीनवर्षे छोरीको निधारमा अन्डा फुटाएर अम्लेट बनाउँछिन् र टिकटकमा पोस्ट गर्छिन्। केही घण्टाभित्रै छोरीको निधारमा अन्डा फुटाएर अम्लेट बनाएको पोस्टमा लाखौं भ्युज आउँछ। आमा पोस्ट भाइरल भएको देखेर दंगदास !

सार्वजनिक गरेको सेकेन्डभरमै सम्प्रेषित सामग्री भूगोलको जुनसुकै कुनामा सजिलै पुग्छ। आजको पुस्तामा सामाजिक सञ्जालको लगाव यति धेरै बढिसकेको छ कि मानिस खाना नखाई बस्न सक्ला तर सामाजिक सञ्जालसँग सम्बन्धविच्छेद गरिदिने हो भने बाँच्न गाह्रो पर्छ ! अर्थात् सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अंग जस्तै भएको छ।

असंख्य राम्रा पक्षका बाबजुद सामाजिक सञ्जालका नकारात्मक पक्ष नभएको चाहिँ होइन। भनाइ नै छ हरेक सिक्काका दुईटा पाटा हुन्छन्। उपयुक्त मात्राको सेवनबाट विषले पनि जीवन बचाउँछ। जथाभावी प्रयोग गर्दा औषधिले समेत ज्यान लिन्छ। मूल कुरा सामाजिक सञ्जालको प्रयोग कुन रूपमा गर्छौं भन्ने हो। यसलाई कुण्ठा, आवेग सम्प्रेषणको मञ्च बनाउँछौं या ज्ञान आर्जनको प्लेटफर्ममा बदल्छौं भन्ने हो। किन्तु, पछिल्लो समयमा सामाजिक सञ्जाल कुण्ठा, आवेग, आक्रोश, आडम्बरजस्ता नकारात्मक मनोवेग अभिव्यक्तिको माध्यममा रूपान्तरित हुँदै गएको आभास हुन थालेको छ। कसैलाई कसैसँग झोक चल्यो, फेसबुकमा तथानाम लेख्यो। आर्थिक हैसियत प्रदर्शन गर्न मन लाग्यो, फेसबुकको सहारा लियो। आदि–इत्यादि।

अब एकछिन सामाजिक सञ्जाल प्रगोगकर्तामा बढ्दै गएको ‘भाइरल’ मोहको चर्चा। आजभोलि सामाजिक सञ्जालमा भाइरल हुन तँछाडमँछाड गर्नेको संख्या ह्वात्तै बढेको छ। उनीहरूलाई जुनसुकै उपायले होस्, भाइरल हुनु परेको छ। अन्टसन्ट लेखेर होस् वा अंग प्रदर्शन गरेर, भाइरल नभै भएको छैन। एक दिन टिकटकमा यस्तै एउटी भाइरलप्रेमी आमा देखा पर्छिन्। ती आमा तीनवर्षे छोरीको निधारमा अन्डा फुटाएर अम्लेट बनाउँछिन् र टिकटकमा पोस्ट गर्छिन्। केही घण्टाभित्रै छोरीको निधारमा अन्डा फुटाएर अम्लेट बनाएको पोस्टमा लाखौं भ्युज आउँछ। आमा पोस्ट भाइरल भएको देखेर दंगदास ! सञ्जालमा देखिइरहने अर्को पनि दृश्य छ। त्यो हो, छोराछोरी विदेश जाँदा गरिने फेसबुक पोस्ट। छोराछोरीलाई एअरपोर्टमा बिदा गर्दा फेसबुकमा फोटो राख्नु फेसन जस्तै भएको छ ! यस्तो लाग्छ फेसबुकमा प्रविष्ट ती युवायुवती नोबेल पुरस्कार ग्रहण गर्न अन्तर्राष्ट्रिय उडान भर्दैछन्।

सञ्जालका प्रयोगकर्ता फेसबुक, युट्यब, टिकटक, इन्टाग्राममा पाएको लाइक, कमेन्ट, भ्युज देख्दा मद पिएको मान्छे झैं लट्ठ पर्छन्। तिनलाई लाइक, कमेन्ट, भ्युजले कोकिनको नशाले झैं लट्ठयाउँछ। तपाईं सामाजिक सञ्जालमा अनुरक्त व्यक्तिको हातबाट मोबाइल हटाइदिनुस्, पिट्न बेर मान्दैन ! सञ्जालप्रति त्यस हदको आशक्तिलाई ‘एडिक्सन’ मान्ने गरिएको छ। 

सञ्जालमा भेटिने अधिकांश व्यक्तिसँग वास्तविक दुनियाँमा बिरलै भेट हुन्छ। सामाजिक सञ्जालमा भेटिने व्यक्ति र भित्तोमा टाँगिएकी सुन्दरी उस्तैउस्तै हुन्। अर्थात् सञ्जालभित्रको दुनियाँ र वास्तविक जगतबीच आकाश जमिनको भिन्नता हुन्छ। विज्ञहरूको अनुसार, सोसियल मिडिया कम्पनीहरूले जानिबुझी यस किसिमको एप बनाएका हुन्। ताकि सञ्जालभित्र प्रवेश गर्ने हरेक व्यक्ति त्यहाँबाट सजिलै बाहिर निस्कन नसकोस्।

सामाजिक सञ्जालभित्रको दुनियाँ रुमानी हुन्छ। यसको प्रयोगले मानिसको दिमागमा डोपोमिन या इन्डोर्फिन नामको खुसीको रसायन सञ्चार गर्छ। मानिस त्यतिखेर अनुपम आनन्दको महसुस गर्छन्। टिकटक एप सामाजिक सञ्जालका अन्य एपभन्दा अझ बढी डोपोमिन सञ्चार गर्ने खालको रहेको बताइन्छ। मोबाइल वा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विभिन्न मानसिक तथा शारीरिक समस्या निम्त्याएको पाइन्छ। लामो समयसम्म निहुरेर सोसियल मिडिया चलाएका कारण युवा उमेरमैं ढाड कुप्रो हुनु, आँखा कमजोर हुनु, सिर्जनात्मकता ह्रास हुँदै जानु, पढ्न मन नलाग्नु, निद्रा नपर्नु आदि समस्या छन्।

सामाजिक सञ्जालमा उपलब्ध कतिपय कुराको तथ्यपूर्ण विश्लेषण गर्न नसक्दा मानिस ठूलठूला ठगी र अपराधको सिकार भएको समाचार सार्वजनिक भइरहेछन्। माल पाएर चाल पाउन नसक्दा प्रविधि ‘बाँदरको हातमा नरिबल’ जस्तै भएको छ। तिनै तथ्यलाई मध्यनजर गरेर हुनुपर्छ, विश्वका थुप्रै देशले टिकटकमाथि प्रतिबन्ध लगाएको देखिन्छ। एपको निर्माणकर्ता चाइना स्वयंले शैक्षिक सामग्री हेर्न र पोस्ट गर्नबाहेक अन्य सन्दर्भमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ।

लेखमा बिट मार्नुअघि थप कुरा। यस लेखको तात्पर्य प्रविधि वा सामाजिक सञ्जालको विपक्षमा सन्देश प्रवाह गर्नु पटक्कै होइन। लेखको एक मात्र उद्देश्य प्रविधि वा सामाजिक सञ्जालको राम्रा–नराम्रा पक्षको अनावरण गर्नु नै हो। यसर्थ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग नगर्ने हैन, गरौं तर ठीकसँग। सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गरी ‘एडिक्ट’ हुनबाट बचौं– ‘अति सर्वत्र वर्जयत्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.