गण्डकीमा २३३ किलोमिटर पक्की सडक र २० मोटरेबल पुल निर्माण

गण्डकीमा २३३ किलोमिटर पक्की सडक र २० मोटरेबल पुल निर्माण
तनहुँको घिरिङ गाउँपालिकामा गण्डकी प्रदेश सरकारले कालोपत्रे गरेको मानपुर–डेढगाउँ सडक। तस्बिर : सन्तोष गौतम

बेनी : गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षको अवधिमा २ सय ३३ किलोमिटर पक्की सडक र २० वटा मोटरेबल पुल निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले २०८०/०८१ मा सञ्चालन गरेका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनाहरूमार्फत ११ जिल्लामा २ सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको छ। 

गत वर्ष बागलुङमा ४३ किलोमिटर, स्याङ्जामा ३९ किलोमिटर, नवलपुरमा ३७ किलोमिटर, तनहुँमा ३५.५ किलोमिटर, पर्वतमा २३ किलोमिटर, कास्कीमा ३२.७५ किलोमिटर, गोरखामा १३.८१, लमजुङमा ११ किलोमिटर, म्याग्दीमा १२.४६ किलोमिटर, मनाङमा २.२ किलोमिटर र मुस्ताङमा ६ सय २० मिटर सडक कालोपत्र र ढलान भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले बताए। 

५५ किलोमिटर कच्ची सडक निर्माण, १ सय ४६.६३ किलोमिटर सडक फराकिलो बनाउने, २ सय २७.१३ किलोमिटर नाली, १ सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन्। सडकको सुरक्षाका लागि प्रदेशभर २ लाख १९ हजार १ सय ४९.५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ। 

कुल १२ अर्ब १८ करोड २३ लाख ५ हजार रुपैयाँ पुँजीगत बजेट रहेको मन्त्रालयले ७१.७४ प्रतिशत अथवा ८ अर्ब ७३ करोड ९५ लाख २९ हजार रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा १७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल, १२ वटा झोलुंगे र चारवटा भवन निर्माण गरेको थियो।

गत आर्थिक वर्षमा ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएको भौतिक मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।

गत आर्थिक वर्षमा १ सय २६ प्रादेशिक सडक, ५ वटा संघीय समपूरक सडक, २७ पक्कीपुल र दुई झोलुंगेपुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ। बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुंगेपुल योजनाहरूका लागि १० अर्ब ५८ करोड १ लाख ५ हजार रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ। अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

गत आर्थिक वर्षमा २० वटा मोटरेबल पुल, १९ वटा झोलुंगेपुल र २५ वटा भवन निर्माण भएका छन्। मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा. महेन्द्र बानियाँले गोरखा र तनहुँमा ४/४, नवलपुर र बागलुङमा ३/३, म्याग्दी र कास्कीमा २/२, लमजुङ र मनाङमा १/१ वटा सडक पुल निर्माण भएका जानकारी दिए। 

‘आर्थिक वर्ष २०८०/०८१ सहित प्रदेश सरकारले बजेट कार्यान्वयन गरेको ६ आर्थिक वर्षको अवधिमा १ सय १ वटा मोटरेबल पुल निर्माण भएका छन्,’ उनले भने, ‘निर्माणाधीन अवस्थामा रहेका ८० वटामध्ये ६ वटा पुलको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ।’

ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्ट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना न्यूनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनका लागि सडक आयोजनाहरू प्रभावकारी बनेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.