भीरबाट लडेर वृद्धको मृत्यु
रुकुमपूर्व : रुकुम पश्चिममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका-२, बादँरपानीका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठूलो भीरबाट लडेर मृत्यु भएको हो।
आइतबार साँझ दह चौरबाट पानीगैरा जाने क्रममा ओलीको भीरबाट लडेर मृत्यु भएको स्थानीय अनन्तबहादुर खड्काले जानकारी दिए। आइतबार साँझ ७ बजेतिर दह चौरबाट आफन्तको घरमा बिरामी भेट्न पानीगैरा जाने भनेर हिँडेका ओली रातिसम्म पनि सम्पर्कमा नआएपछि स्थानीयले खोजी गरेका थिए।
खोजी गर्ने क्रममा ओलीको शव राति ९ बजे पानीगैरा गाउँ नजिकैको ठूलो भीरमा फेला परेको थियो। बाटो देखि करिब २ सय मिटर तल शव फेला परेको छ। उनका छोराहरू अहिले रोजगारीका सिलसिलामा देश बाहिर छन्।