यज्ञोपवीतं परमं पवित्रं

यज्ञोपवीतं परमं पवित्रं
फाइल तस्बिर।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्।

आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तुतेजः।।

विवाद नै गर्नु नपर्ने विषय निकै विवादपछि यसपालिको जनैपूर्णिमा सकिएको छ। मकरको भद्रा पातालमा हुने र त्यसको कुनै पनि असर पृथ्वीमा पर्दैन। यो दिन सिद्धि योग पनि परेकाले हिजोको विषयमा कुनै तर्क गर्नुपर्ने थिएन। चान्द्रमानअनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनियो, भदौ ३ गते परेको थियो। भद्रायुक्त भई कतिपयले यसमा शंकासमेत गरेकाले नियमित गरिने कार्यलाई भद्रा हेर्नु पर्दैन।

पूर्वीय दर्शनका यजुर्वेदीहरूका लागि यो वर्षभरिको महान् पर्व हो। मानव शरीरमा शुद्ध र स्वाध्याय गरिरहनु पर्ने हँुदा यो दिन शरीर शुद्धि र विशेष स्वाध्याय गर्ने दिन हो। विशेष स्नानगरी यज्ञोपवीत अर्थात् जनै वा ब्रह्मसूत्र धारण गर्ने दिन वा उपाकर्म गर्ने दिनको रूपमा यसलाई मानिन्छ। यजुर्वेदीका लागि वेदको अध्ययन आरम्भ गर्ने दिन, श्रवण नक्षत्रयुक्त भएकाले यसलाई श्रावणी भन्ने गरिएको हो। यसै दिनलाई संस्कृत दिवसको रूपमा पनि लिने गर्छौं। सामवेदीहरू भाद्र शुक्ल पूर्णिमामा र अथर्ववेदीहरूले श्रावण या भाद्र पूर्णिमाका दिन उपाक्रम गर्ने गर्छन्। तागाधारीले यसदिन बिहानै विशेष चोखो माटो, खरानी, गोबर, जौ, तिल, कुश प्रयोग गरी स्नान गरे। सप्तऋषिहरूको पूजा गरी वेदमन्त्रले नयाँ जनै मन्त्रेर रुद्राभिषेकसहित उक्त जनै प्रयोग गर्छन्।

वर्गपिच्छे जनै बनाउने वस्तु र विधि फरक भए पनि सबैजसोले कपासद्वारा बनाइएको जनै नै प्रयोग गर्छन्। जनै प्रयोग गर्नुअघि विधि विधानले जनैलाई संस्कार गरिसकेको हुनुपर्छ। चूडाकर्म, उपनयन, व्रतबन्ध आदि कर्म भइसकेका लागि यसदिन जनैलाई नवीकरण गर्नेदिन सम्झी नयाँ मन्त्रिएको जनै लगाई पुरानो जनैलाई आफ्ना स्थानमा जाऊ भनी प्रार्थना गरी फुकालिन्छ। प्रजापति देवता सँगसँगै यज्ञोपवीत ‘जनै’को उदय भएकाले नयाँ जनै प्रयोग गर्दा अत्यन्त पवित्र प्रजापति रूपका जनैले मेरो शरीर बनाई ब्रह्मतेज प्राप्ति र शरीरको रक्षाकवचको रूपमा रहन प्रार्थनासमेत गरी जनै लगाउने गरिन्छ। विधिपूर्वक मन्त्रणा गरिएको जनैले मानिसको शरीरमा तेज, पुष्टि, कीर्ति, बुद्धि, धर्म वृद्धिको साथै आयु र आरोग्यसमेत प्राप्त हुन्छ ।

शरीरमा भएका ९ द्वारबाटै अन्त्यमा प्राण विसर्जनभै देहलीला समाप्त हुने हुँदा मुख्य ९ द्वारयुक्त शरीरको भरणपोषणको अनि रक्षाको संकेत ९ गुणा जनैले दिन्छ । जनैमा भएका ३ डोराले जन्मँदै ३ ऋण बोकेर आउने र ती तीन ऋण देवऋण, पितृऋण र ऋषिऋण जीवनमा गरिने पुण्यकर्मले तिर्दै जाने संकेत पनि यसबाट प्राप्त हुन्छ । सदैव देव उपासनाबाट देवऋण, तपद्वारा ऋषिऋण र असल संस्कारबाट असल सन्तान उत्पादन र संस्कारले तदनुकूल व्यवहार गर्नु पितृऋण चुक्ता गर्ने उपाय हुन् ।

जनैमा भएका पाँच ग्रन्थीले भने मानव जीवनले गर्नुपर्ने पाँच मुख्य कर्मको संकेत गर्छ । सदैव स्वाध्यायमा रहने, होमादी कार्यबाट देवतालगायत सम्पूर्ण जीवात्मालाई आहुतिमार्फत खुसी गराउने, गृहस्थ धर्म निर्वाहका लागि अतिथि सत्कार गर्ने, सदैव जल तर्पण आदिले पितृयज्ञ गर्ने, सदैव प्राणीलाई जल, अन्न दिएर भूतयज्ञ गर्ने यी पाँच प्रमुख यज्ञ मानिसले दिनदिनै गर्नुपर्ने हुन्छ । सक्नेले यी कार्य सधैं गर्छन्, नसक्नेले जनै पूर्णिमाका दिन यज्ञोपवीत संस्कार गर्दा तिनबाट हुन नसकेका दोषमुक्तिका लागि सम्पूर्ण ब्रह्माण्डमा रहेका स्थावरदेखि जीवात्मासम्म श्रद्धाभाव व्यक्त गर्दै महासंकल्पका साथ उपाक्रम कर्म गर्छन् ।

यस अर्थमा यसदिनको स्नान, जनै अभिमन्त्रण कार्य झन्डै चार घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पितृहरूका लागि जनै अपसव्य गरी विशेष तर्पण दिइन्छ भने देवताहरूका लागि जनै सव्यबाट तर्पण गरिन्छ । वर्षभरि भएका कुकर्म, झुटो बोली, अभक्षण, खराब साक्षी, गम्यागम्य दोषदेखि आफ्ना सम्पूर्ण कुरीति, कुसंस्कार, कुप्रवृत्ति र तिनका प्रभावबाट मुक्त राखी नवीनतम उत्साहसहितको नयाँ जीवनी आरम्भ गर्दैछु भन्ने प्रतिज्ञासमेत यस कर्मबाट गरिन्छ ।

ब्रह्माण्डमा अनेकौं द्वीप छन् । शरीरका नाडी नसा झैं साढे तीन करोड तीर्थ छन् । अनेकौं धाम छन् । सम्पूर्ण ब्रह्माण्ड नै आफ्नो शरीर सम्झी ब्रह्माण्डीय तत्तत् स्थानमा स्थूल रूपमा पुग्न, हेर्न, देख्न सकिन्छ ।

स्तुति बन्दना गर्न नसकेको, अयोध्या, मथुरा, गंगा, यमुना, बद्रीधाम, गोसाइँकुण्ड, देवघाटजस्ता पावन क्षेत्रहरूमा पुग्न, स्नान गर्न, दान गर्न, ध्यान गर्न नसक्ने अवस्था पनि धेरैलाई हुन्छ । यस्तो अवस्थामा प्रायश्चित स्वरूप तत्तत् देव तीर्थहरूलाई वरिपरिका पूजास्थलमा आह्वान गरी विशेष वेद, उपनिषद, गायत्री, गीता, पुराण, उपपुराण, शास्त्रीय विधिले चिन्तन गरी रक्षाबन्धनको मन्त्र पढेर आचार्य, गुरु, पुरोहितका हातबाट रक्षाबन्धनको डोरोसमेत हातमा बाँध्ने संस्कार र परम्परा पनि यसै दिनका लागि छुट्ट्याइएको छ । बालरक्षाका लागि विभिन्न रङको डोरो लगाउने प्रचलन छ । पहेंलो, रातो, सुन्तला रङले सजाएको धागोको डोरो हातमा बाँध्नाले पुरुष, स्त्री, बाल, वृद्ध वर्षभरि नै सुरक्षित हुने पूर्वीय चिन्तन अरूको लागि पनि उदाहरणीय छ ।

संस्कार हो, जनैपूर्णिमाको दिन दिदीबहिनीका हातबाट रंगीन राखी बाँध्ने, उपहार आदानप्रदान गर्ने चलन पनि देखिन्छ । खासगरी, जनैपूर्णिमाको दिन गुरु पुरोहितबाट मन्त्रसहित जनै लिने, जनै दान गर्ने, हातमा डोरो बाँध्ने चलन सबैतिर देखिन्छ । यज्ञोपवीत धारण नगर्ने महिला र अन्य वर्गका स्त्री–पुरुष, केटाकेटी सबैले रक्षाबन्धनको डोरो विशेष रूपमा बाँध्ने चलन छ । वर्षको एकपटक आउने लक्ष्मीपूजा गाईतिहारका दिन हातको त्यो डोरोलाई गाईको पुच्छरमा बाँध्ने चलन र यसो गर्दा भवाटवीको जंघारबाट छुट्टी मिल्ने विश्वास छ ।

रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अघि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु वृहस्पतिसामु हारगुहार मागेपछि गुरु वृहस्पतिले विशेष रक्षाकबचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको पाइन्छ । यसो गर्दा गुरु वृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरूप रक्षाधागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । जुन मन्त्र यस प्रकार छ, येनबद्धो बलीराजा दानवेन्द्रो महाबलः । तेन मन्त्रेण बध्नामि रक्षेमा चल मा चल ।।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.