नेपालबाट ९४१ मेगावाट बिजुली भारतले किन्ने

नेपालबाट ९४१ मेगावाट बिजुली भारतले किन्ने

काठमाडौं : नेपालको थप बिजुली भारतले किन्ने भएको छ। अन्तरदेशीय व्यापारका लागि भारतले नेपालका १२ जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। थप विद्युत् निर्यातसँगै भारतबाट कुल स्वीकृति पाएको विद्युत्को परिमाण कुल २८ जलविद्युत् आयोजनाबाट ९४१ मेगावाट पुगेको छ। 

यसअघिको स्वीकृत परिमाण ६९० मेगावाट थियो, जुन १६ जलविद्युत् आयोजनाबाट लिइएको थियो। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो। योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ। 

१० जलविद्युत् आयोजनाहरूबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारलाई र २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिनेछ। प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ। नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ। योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ। गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो। यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू प्राधिकरणले बेहोर्नु पर्ने छैन।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसै वर्ष मध्यकालीन सम्झौताअनुसार थप ४ सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गरेका थिए। उनले हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप ४०० मेगावाट विद्युत् निर्यात गर्न भारतको अनुमति पर्खिरहेको बताएका थिए। 

कार्यकारी निर्देशक घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताए। उनले स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको उल्लेख गरे। साथै, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको र छिट्टै स्वीकृति पाउने जानकारी दिए। घिसिङले चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको बताए।

नेपालले भारतको इनर्जी एक्सेचेन्जको डे अहेड मार्केटमा २०७८ को वैशाखमा प्रवेश पाएको थियो। २०७८ साल कात्तिकमा पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ। इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो। 

हाल नेपालले मिडियम टर्म (मध्यकालीन), डे अहेड र रियल टाइम मार्केटमा दैनिक ६९० मेगावाट विद्युत् भारतमा बिक्री गर्दै आइरहेको थियो। प्राधिकरणले १६ वटा आयोजनाहरूबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको थियो।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। भारतको इनर्जी एक्सचेञ्ज –आईएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ। भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ।

थपिएका विद्युत् स्वीकृतिमा ११.६४ मेगावाटको दोर्दी– १, १४.४५३ मेगावाटको मायाखोला, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तलो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.४ मेगावाटको मोदी, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दुधकुण्ड जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यात हुनेछ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ बाट उत्पादित १२५.८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिनेछ।

विद्युत् बेचेर नै प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेकोे छ। गत आर्थिक वर्षमा प्राधिकरणले १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरेको थियो। सोही वर्ष १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँबराबरको विद्युत् आयात गरिएको छ। सुक्खायाममा नदीमा पानीको बहाव घट्ने हुन्छ। यसले हाम्रा आन्तरिक उत्पादनका प्रायः अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकोले विद्युत् उत्पादन क्षमताको करिब ३० प्रतिशतमा झर्ने हुन्छ। 

सुक्खायाममा आन्तरिक विद्युत्को मागलाई धान्न भारतबाट बिजुली आयात गरिँदै आइएको छ। गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ। यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो। निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको छ।

भारतका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको बताइएको छ। यस्तै, नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। सम्झौताको पहिलो वर्षमा करिब एक हजार मेगावाट विद्युत् निर्यातको वातावरण तयार भएको छ।

भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन रहेको छ। नेपाल–भारतबीचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको छ। यस्तै, इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन्। साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमनिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

योसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ। बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगो लागे पनि पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको छ।

प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मेगावाट पुगेको छ। जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २ हजार ९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै छ। थर्मल ऊर्जा ५३ मेगावाट, सौर्य ऊर्जा १ सय ७ मेगावाट र वायोमास ऊर्जा ६ मेगावाट छ। हाल विद्युत्को उच्च माग (पिक डिमान्ड) २६ सय मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.