जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय मधेस प्रदेशमा एकमात्र संघीय विश्वविद्यालयको रूपमा स्थापित छ। अध्ययन, अध्यापन एवं अनुसन्धान, कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानुन, व्यवस्थापन, चिकित्सा र पर्यटनमा आधारित रहने भनेर संघीय सरकारले २०७४ सालमा उक्त विश्वविद्यालयको स्थापना गरेको हो।
स्थापनाकालदेखि नै विभिन्न विवादको चंगुलमा फसेको राजर्षि जनक विश्वविद्यालय पछिल्लो समय गति लिएको छ। उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले विश्वविद्यालयको बागडोर सम्हालेपछि व्यवस्थापन र अध्ययन, अध्यापनमा हदैसम्म सुधार आएको छ। विश्वविद्यालयमा अध्ययनका लागि संकायहरू थपिँदै गएको छ। उच्च शिक्षाको पहुँच बाहिर रहेका मधेसका दूरदराज गाउँहरूमा विश्वविद्यालयको क्याम्पस विस्तार क्रम चलिरहेको छ। विश्वविद्यालयको अवस्था, गतिविधि र भावी कार्ययोजनाको विषयमा केन्द्रित रहेर उपकुलपति प्रा.डा अमरप्रसाद यादवसँग अन्नपूर्णकर्मीले गरेको कुराकानीको सम्पादित अंश।
अहिले विश्वविद्यालयको खबर कस्तो छ ?
ठीक छ। विश्वविद्यालयमा म आएको एक वर्ष भयो। यो एक वर्षमा मिहिनेतका साथ काम गरेको छु। अहिले विश्वविद्यालयले गति लिएको छ। राम्रै छ भन्नुपर्यो।
भर्खरै स्ववियुको चुनाव सकिएको छ। यो चुनावलाई कसरी हेर्नुहुन्छ ?
ऐनअनुसार विश्वविद्यालयमा स्ववियुको चुनाव गराउनै पर्ने थियो। मैले विद्यार्थीको हकहितको लागि मागहरू सम्बोधन हुने गरी स्ववियु चुनाव गराउनु नराम्रो हैन भनेर चुनाव गराएको हो। चुनाव एकदमै राम्रोसँग शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै संगठन र दलका साथीहरूले सहयोग गर्नु भएको छ। चुनाव सम्पन्न भएको छ। म खुसी छु।
तपाईं आउनुभन्दा अगाडि र आइसके पछाडिको विश्वविद्यालयको अवस्थामा के फरक छ ?
यो विश्वविद्यालयको स्थापना २०७४ साल कात्तिक १२ गते भएको हो। त्यो बेलादेखि पठनपाठन सुरु भए पनि अलिकति समस्याहरू आएकै हो। पदाधिकारीको नियुक्ति समयमा नभएको हुनाले समस्याहरू बल्झिएको थियो। त्यो समस्याहरू म आएदेखि एक वर्ष मिहिनेत गरेपछि ती समस्याहरू लगभग समाधान भएको छ। विश्वविद्यालयले राम्रो गति लिएको छ। यसलाई सबैको सहयोगमा योभन्दा पनि राम्रो गर्ने मिसनमा छु। र, त्यो चाहिँ सक्सेस हुन्छ।
यो विश्वविद्यालयलाई चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?
हेर्नुस् ! यो विश्वविद्यालयको स्थापना भनेको भूगोलअनुसार पनि हुन्छ। हामी जुन भूगोलमा छौं त्यहाँ धार्मिक र आध्यात्मिक हिसाबले प्राचीन सभ्यतादेखि लिएर मिथिला सभ्यता र जनक सभ्यतालाई लक्षित गर्दै यो विश्वविद्यालय स्थापना भएको हो।
यो विश्वविद्यालयलाई अरूभन्दा फरक देखाउन राजर्षि जनक अध्ययन अनुसन्धानलगायत धार्मिक आध्यात्मिक वास्तुशास्त्रका कुराहरूलाई पनि उजागर गर्दै र यो विश्वविद्यालयमा पढ्ने हरेक विद्यार्थीलाई जनक दर्शन वा मिथिला दर्शनको पठनपाठन गराउने मेरो लक्ष्य छ। अब नयाँ भर्ना सुरु हुनेबित्तिकै यो कोर्ष सबैले ‘कम्पलसरी’ पढ्नुपर्छ।
एकातिर तपाईं एउटा धर्म, संस्कृतिको कुरालाई जोडेर पठनपाठन गराउने सोचमा हुनुहुन्छ। यसले अन्य धर्म र आस्था बोकेका विद्यार्थी मर्कामा पर्छ होला नि ?
पर्दैन, पर्दैन। यो दर्शन भनेको सबैलाई हुने हो। यो भूगोलमा बस्ने सबै धर्म जातजातिलाई लक्षित गरेर हरेक भाषाभाषीको रहनसहन, रीतिरिवाज र वास्तुशास्त्रको अध्ययन अनुसन्धान हुन्छ। कुनै एउटा वर्गलाई समेटेर हुँदैन।
विद्यार्थी भर्ना छनोटका लागि कस्तो प्रक्रिया र मापदण्ड छ ?
विद्यार्थी छनोटको प्रक्रिया भनेको ‘इन्ट्रान्स’ नै हो। इन्ट्रान्समा पास हुनेलाई हामी भर्ना गर्छांै।
विद्यार्थी पढेर बेरोजगार भएर विदेशतिर पलायन भइराखेका छन्। यस्ता कुराहरूमा विश्वविद्यालयको रणनीति कस्तो छ ?
हेर्नुस् ! यी दुईटा फरक कुरा हुन्। विद्यार्थी पढेर त बेरोजगार भएको होइन। विद्यार्थी पढेर जब मार्केटसँग लिंक भएका छन् तर क्षमतावान् मानिस कम होलान्। समस्या यहाँ चाहिँ के हो भने जागिरको अवसर छ, तर जागिर लिने मान्छे छैन। मान्छे पढ्छन्, विदेश भाग्छन् वा १२ कक्षा पढ्छन्, विदेश भाग्छन्। विश्वविद्यालयमा यो एउटा चुनौतीको कुरो हो। विद्यार्थीको संख्या घटेको छ।
हामी पढाउन कुनै कन्जुस्याइँ गरेका छैनौं। सबै स्रोतसाधन प्रयोग गरेका छौं। विद्यार्थी चाहिँ यहाँभन्दा विदेश भाग्न खोज्छन्। यो विडम्बना हो। यसलाई हामीले रोक्नुपर्छ। यहाँ स्कुलमा होस् या मन्त्रालयमा होस् वा लोकसेवामा हेर्नुहोला, विज्ञापन खुल्छ तर ‘एप्लिकेन्ट’ हुँदैन। यो भनेको चाहिँ विद्यार्थी पढेर मार्केटमा छन्। त्यो विस्तारै विदेश पलायन भइराखेका छन्। हामी नेपालमै चाहिएको ‘जब’हरूमा उपलब्ध छैन। यसलाई सिरयस्ली सरकार र हामी सबै मिलेर सोच्नुपर्छ।
मधेसलाई केन्द्रित गरेर जनकपुरमा स्थापना भएको विश्वविद्यालय यो प्रदेशको कुनकुन ठाउँमा सञ्चालनमा छ र आगामी योजनाहरू कहाँ सञ्चालन हुनेछन् ?
अहिले जनकपुरमा केन्द्रीय क्याम्पस छ। अर्को महोत्तरीको गौशालामा इन्जिनियरिङ क्याम्पस छ। यस वर्ष बारामा आईटी र रौतहटको गौरमा कृषि र व्यवस्थापन गरी अहिले चारवटा जिल्लामा सुरु भएको छ। मेरो कार्यकालभरिमा मधेस प्रदेशको आठवटै जिल्लामा आंगिक क्याम्पस र प्राविधिक धारको क्याम्पस सञ्चालन गर्ने मेरो लक्ष्य छ।
अबको एक–दुई वर्षभित्रमा सबै जिल्लामा क्याम्पस हुन्छ। मेरो एउटा फोकस के छ भने जहाँ उच्च शिक्षाको पहुँचमा कमी छ त्यो ठाउँलाई लक्षित गरेर क्याम्पस खोल्ने र जहाँ हामी क्याम्पस खोल्न सक्दैनौं त्यहाँ चाहिँ ‘एफिलेसन’ दिने। उच्च शिक्षामा हरेक वर्गको पहुँच होस् भन्ने हाम्रो चाहना हो। अझ हामी १० प्रतिशत जेहेन्दार र २० प्रतिशत आरक्षित गरी ३० प्रतिशत पूर्ण छात्रवृत्ति गरेका छौं। त्योबाहेक पनि त्यो वर्गमा पर्नुहुन्छ भने त्यस्तालाई हामी निःशुल्क पढाउँछौं।
देशमा राजनीतिक अस्थिरता छ। सरकारको हेरफेरले विश्वविद्यालयलाई कत्तिको असर पार्छ ?
विश्वविद्यालयलाई खासै असर पार्दैन। अलिकति सम्पर्क हुन्छन्। मभन्दा माथि सहकुलपति शिक्षामन्त्री र कुलपति प्रधानमन्त्री हुनुभएकोले सरकार चेन्ज हुँदा अलिकति सम्पर्क फेरि स्थापित गर्नुपर्ने हुन्छ। तर, यो नियमित प्रक्रिया हो। त्यति गाह्रो भएको छैन।
विश्वविद्यालय सञ्चालन गर्दा चुनौती कतिको आइराखेको छ ?
म चुनौती त्यसरी मान्दिनँ। चुनौती भनेको डे टु डे काम गर्नुपर्ने कुरा हो। काम गर्दै जाँदा आउने समस्या समाधान गर्ने हो। मेरा पदाधिकारी साथीहरू, विद्यार्थी भाइबहिनीहरू, स्टाफहरू र यहाँका समाज सबैजना मिलेर काम गर्दा मलाई अहिलेसम्म खासै चुनौती आएको छैन। मैले यसलाई सहज तरिकाले लिएको छु। यसरी सधैं राम्रो भएको छ।
विश्वविद्यालयमा राजनीतिक खिचातानी कतिको छ ? शिक्षकहरू कसरी प्रस्तुत हुन्छन् ? समग्रमा पढाइको कस्तो छ अवस्था ?
पहिला समस्या थियो। म आउनुभन्दा अगाडि लामो समय तालाबन्दी भएको थियो। म आएदेखि कहिल्यै त्यस्तो तलमाथि भएको छैन। समयमा पठनपाठन भाको छ। समयमा परीक्षा भाको छ। समयमा हामीले रिजल्ट पनि दिएका छौं। म आएदेखि जहाँसम्म राजनीतिक आस्थाको आधारमा त्यस्तो केही भएको छैन। समाजमा सबैको आआफ्नो विचार हुन्छ। विश्वविद्यालयमा प्रवेश भएपछि सबै शिक्षक हो।
सबैको दायित्व भनेको विद्यार्थीको भविष्य कसरी राम्रो पार्ने भन्ने नै हो। हामीसँग भएको ज्ञान कसरी सेयर गर्ने भन्ने हुन्छ। अहिलेसम्म मैले सबै सर र म्याडमहरूसँग राम्रो सहयोग पाएको छु। उहाँहरूमा पनि केही कमी, कमजोरीहरू होलान्। उहाँहरूलाई पनि ट्रेनिङ, वर्कसपहरूको आवश्यकता हुन्छ। त्यो हामीले गरिराखेका छौं। हामी सबै पोजेटिभ माइन्डले लागिराखेका छौं। सबै राम्रो भइराखेको छ।
अहिलेको बढ्दो प्रविधिको प्रयोगले विद्यार्थीको पढाइ र मनोबलमा कस्तो प्रभाव वा असर पारेको छ ?
हेर्नुस्। प्रविधिको सदुपयोग गर्नुपर्ने हुन्छ जहाँ पनि। त्यसमा विद्यार्थीमात्रै भन्दा पनि पढाउन शिक्षकहरूले पनि कसरी र कस्तो समयमा त्यसको प्रयोग गर्ने भन्ने सिकाउनुपर्छ। प्रविधि त जहिल्यै पनि राम्रै हो नि। प्रविधिमैत्री हुनुपर्छ।
अहिले विश्वविद्यालयमा कुन—कुन संकायमा पढाइ हुन्छ ?
अहिले हामीसँग व्यवस्थापन संकायमा बीबीए, एमबीए। नयाँमा हामीले डिजिटल बिजिनेस म्यानेजमेन्ट सुरु गरेका छौं। त्यस्तै मानविकीमा हामीसँग बीसीए, बीए एलएलबी चलाइराखेका छौं। पाँच वर्षको र यो वर्षबाट आमसञ्चार र पत्रकारिताको पढाइ सुरु गर्छांै। हेल्थ साइन्समा बीपीएच र बीएमएलटी छ। विज्ञानतर्फ बीएस्सी सीएसआईटी, सिभिल इन्जिनियरिङ छ। बीआईटी र बीएस्सी एग्रिकल्चर सुरु गर्छौं यसपालि।
इन्जिनियरिङ काउन्सिलबाट कम्प्युटर इन्जिनियरिङका लागि माग गरेका छौं। त्यो पनि पाइपलाइनमा छ। त्यो भयो भने यो वर्षबाट कम्प्युटर इन्जिनियरिङको पढाइ पनि सुरु हुन्छ।
यो विश्वविद्यालयमा पढाइ खर्च कस्तो छ ?
यो नेपाल सरकारबाट सञ्चालित विश्वविद्यालय भएको हुनाले हामी नेपाल सरकारकै लगानीमा चलेका छौं। पढाइ शुल्क हामीले नेपालकै सबैभन्दा कम शुल्क लिएका छौं।
अन्तभन्दा लगभग आधा छ शुल्क। त्यसमध्ये त ३० प्रतिशत विद्यार्थीलाई हामी निःशुल्कै पढाउँछौं। गरिब बच्चाहरू, विपन्न बच्चाहरू, गरिबी रेखामुनि रहेका बच्चाहरू सबैलाई हामी फ्रिमा पढाउँछौं। त्यसका लागि इन्ट्रान्स पास गर्नुपर्छ। इन्ट्रान्समा पनि हामी २० प्रतिशत विद्यार्थी लिन्छौं। त्यो कोटामा पर्ने विद्यार्थीलाई फ्रिमा पढाउँछौं। त्यसमा पनि अटाएन भने वडाबाट गरिब हो भनेर सिफारिस आयो भने वा आरक्षित कोटामा पर्छ भने हामी निःशुल्क पढाउँछौं।
अन्त्यमा, केही भन्नुहुन्छ कि ?
म यही कुरा भन्छु। राजर्षि जनक विश्वविद्यालय मधेस प्रदेशमा एउटामात्रै संघीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको काम मधेसमा उच्च शिक्षाको पहुँच बढाउने हो। जहाँ उच्च शिक्षामा पहुँच छैन। जहाँ प्राविधिक अध्ययन कम थियो। त्यो ठाउँमा हामी पुग्छौं। तपाइँहरू विश्वास गरेर यहाँ आइदिनुस्। पढ्नुस्। हाम्रो काम गुणस्तर शिक्षा दिने हो। विस्तारै हामी विद्यार्थीलाई जबसँग पनि लिंक गर्दैछौं।
प्रस्तुति : विजयकुमार सिंह