देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन लागिपरेका छौं : उपप्रधानमन्त्री
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।
उपत्यकाका बागमती,विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाइ छ। 'जसरी चलिरहेको छ त्यसैगरी चलाउँ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,' उनले भने।
संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताउँदै मन्त्री सिंहले अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको बताए। उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए।
देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए । काठमाडौं उपत्यका विकास प्राधिकरण,अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनको भनाइ छ।
उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे । जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, 'राम्रा विचारहरु, आइडियाहरू, नदीनालाहरूको सुधार गर्नेदेखि लिएर,काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’