विराटनगरको बाल सुधारगृहबाट दुई जना फरार

विराटनगरको बाल सुधारगृहबाट दुई जना फरार
सुन्नुहोस्

विराटनगर : अदालतको फैसला र आदेश अनुसार विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो फरार भएका छन्। 

फरार हुनेमा एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन्। कानुनको विवादमा परेका उनीहरूलाई बाल सुधारगृहमा राखिएको थियो। कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरूलाई सुधारगृहमा राखिन्छ। 

भागेका दुवै जना बालक सुनसरीका हुन्। सुनसरीको कोशी गाउँपालिका-२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको छ। उनलाई अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो। अदालतले पछि मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको सुधारगृहका प्रमुख मिलन चौहानले बताए। 

त्यस्तै, बराहक्षेत्र नगरपालिका-११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। 
दुवै जना दिउँसो ३ बजेतिर भागेको सीसी क्यामेराको फुटेजबाट देखिएको प्रमुख चौहानले बताए। 

उनका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन्। सुधारगृहमा दीपज्योति माध्यमिक विद्यालय छ। सुधारगृहभित्र राखिएकाहरू त्यही विद्यालयमा पढ्छन्। त्यहाँ प्रत्येक मंगलबार मनोरञ्जनसहितको अतिरिक्त क्रियाकलाप हुने चौहान बताउँछन्। 

‘सुधारगृहभित्र प्रत्येक मंगलबार ‘बुक फ्री डे’ हो। त्यो दिन अतिरिक्त क्रियाकलाप हुन्छ। सुधारगृहभित्र रहेकाले कार्यक्रममा आआफ्ना प्रतिभाहरू देखाउँछन्। मनोरञ्जनात्मक कार्यक्रम चलिरहेका बेला दुई जना सुधारगृहको पर्खाल नाघेर भागेको पाइयो। प्रहरीसँग समन्वय गरेर खोजी जारी राखिएको छ,’ उनले भने। 

सुधारगृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असइ)को नेतृत्वमा १३ जना प्रहरी परिचालन गरिएको छ। हाल असइ टेकमणि खड्काको नेतृत्वमा प्रहरी परिचालित छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सबैतिर समन्वय गरेर सुधारगृहबाट फरार भएकाको खोजी तीव्र पारिएको जानकारी दिए। तर, साँझसम्म फेला पार्न नसकिएको उनले बताए। 

सुधारगृहमा क्षमताभन्दा बढीलाई राखिएको छ। ५० जनाको क्षमता रहेकोमा २ सय ३८ जनालाई राखिएको चौहानले बताए। उनका अनुसार सुधारगृहभित्र १८ वर्षमाथिका १ सय २४ जना रहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.