संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्छ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनका विषयमा खुला बहस हुनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि खुला बहस हुनुपर्ने बताए। संविधानका कमी कमजोरीका बारेमा छलफल हुनसक्ने भन्दै उनले सरकारको नियतमाथि शंका गर्नुपर्ने स्वभाविक हुने बताए।
अध्यक्ष नेपालले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीहरूलाई दलका नेताहरूले स्वीकार गर्न सक्नुपर्ने उल्लेख गरे। बहुदलीय प्रतिस्पर्धासहितको समाजवादबाट मुलुकको विकास र समृद्धि सम्भव रहेको उनको भनाइ छ।
अध्यक्ष नेपालले राजनीतिमा निष्ठा र नैतिकताका साथै स्वच्छताको पनि आवश्यकता रहेको बताए। नैतिक आचरणले स्वच्छता नपाएसम्म देश र जनताप्रति समर्पित हुन नसक्ने उनले बताए।