दुई जना नाबालक पोखरीमा डुबे : भाइको मृत्यु, दाजु घाइते
विराटनगर : मोरङको रंगेली नगरपालिका-५ भेरुवाथानमा रहेको पोखरीमा मंगलबार दिउँसो दुई जना नाबालक डुबेका छन्।
एकै घरका दाजुभाइ मामाघरनजिकको पोखरीमा डुबेका हुन्। डुबेकामध्ये भाइको मृत्यु भएको छ। दाजु घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-५ घर भएका रञ्जीत ठाकुरका छोराहरु २ वर्षीय नीरज र ६ वर्षीय मनिष ठाकुर रंगेलीस्थित मामाघर गएका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दुवै जनालाई मामाघरको पछाडि रहेको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर फेला पारिएको बताए। उनका अनुसार दुवै जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
अस्पताल पु¥याउनसाथ भाइ नीरजलाई चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए। रंगेलीमा सम्भव नभएपछि दाजु मनिषलाई थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।
प्रहरीका अनुसार मध्यम अवस्थाका मनिषको स्वास्थ्य सुधारोन्मुख छ। नाबालक दाजुभाइ खेल्ने क्रममा त्यहाँ पुगेको र पोखरीमा खसेर डुबेको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।