पदका लागि नभइ केही गरौं भन्ने इच्छाले प्रधानमन्त्री बनेको हुँ : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साना- साना पुजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी गर्न आग्रह गरेका छन्। बुधबार काठमाडौंमा आयोजित स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना -साना उद्योगहरूमा लगानी गरेर पुँजी बढाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले केही गरौं भन्ने हुटीहुटीले आफू प्रधानमन्त्री बनेको दावी गरे। ' पदका लागि मात्रै नभइ केही गरौं भन्ने इच्छाले प्रधानमन्त्री बनेको हुँ। प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ,'उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले लगानी गरेका कुनै पनि स्टार्टअप असफल हुन दिन नहुने बताए। उनले नेपाल अल्पविकसितबाट विकसिततिर उन्मुख भइरहेको भन्दै यसका लागि आर्थिक स्रोत बलियो हुनुपर्ने बताए। त्यसका लागि सानासाना उद्योगहरूमा लगानीका साथसाथै व्यापाक विस्तार गर्नुपर्ने उनको भनाइ छ।
उनले दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल,उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरदसिंह भण्डारीलगायत सहभागी थिए।